काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले दिएको ३ सय ४१ रनको लक्ष्य पछ्याइरहेको पाहुना टोली अष्ट्रेलियाले सस्तैमा पहिलो विकेट गुमाएको छ ।
अष्ट्रेलियाले पहिलो विकेटका रुपमा ओपनर डेविड वार्नरलाई व्यक्तिगत १५ रनमा गुमाएको हो । उनलाई मोहम्मद शामीले मनीष पाण्डेको हातबाट क्याच आउट गराए । यसअघि टस हारेर ब्याटिङको मौका पाएका भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनायो ।
उसका लागि शिखर धवनले ९६, केएल राहुलले ८०, कप्तान विराट कोहलीले ७८, रोहित शर्माले ४२, रवीन्द्र जडेजाले अविजित २०, श्रेयस अय्यरले ७ र मनीष पाण्डेले २ रन बनाए ।बलिङमा अष्ट्रेलियाका एडम जम्पाले ३ र केन रिचडर्सनले २ विकेट लिए ।
केएल राहुल रन आउट
भारतीय टिमका विकेटकीपर-ब्याट्सम्यान आज रनआउटको सिकार भए । उनी व्यक्तिगत ८० रन बनाएको अवस्थामा मिचेल स्टार्कको ओभरमा रनआउट भएका हुन् । राहुलले आज ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ८० रन बनाए । वानडे क्रिकेटमा उनको यो पाँचौ अर्धशतक हो । अघिल्लो खेलमा केएल ४७ रनमा आउट भएका थिए ।
कप्तान कोहली पाँचौपटक जम्पाको सिकार
कप्तान विराट कोहली आज पनि अष्ट्रेलियन स्पिनर एडम जम्पाको सिकार हुन पुगे । कप्तान कोहली ४३.१ ओभरमा व्यक्तिगत ७८ रन बनाएको अवस्थामा जम्पाको सिकार भएका हुन् ।
योसँगै जम्पाले विराटलाई पाँचौपटक आउट गर्न सफल भएका छन् । वानडे क्रिकेटमा कप्तान कोहलीको यो ५६ औँ अर्धशतक हो ।
चलेन आज पनि अय्यरको ब्याट
भारतीय क्रिकेट टिमका युवा ब्याट्सम्यान श्रेयस अय्यर आज पनि सस्तैमा आउट भएका छन् । उनी आज ३२.४ ओभरमा व्यक्तिगत ७ रनमा बोल्ड आउट भएका छन् । उनलाई एडम जम्पाले आउट गरेका हुन् । अघिल्लो खेलमा अय्यर ४ रनमा आउट भएका थिए ।
शतक बनाउन चुके शिखर!
भारतीय टिमका ओपनर शिखर धवन शतक आजको खेलमा पनि शतक बनाउन चुकेका छन् । उनी २८.४ ओभरमा व्यक्तिगत ९६ रनमा आउट भएका हुन् । शिखरलाई केन रिचर्डसनले मिचेल स्टार्कको हातबाट क्याच आउट गराए ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा शिखरको यो २९ औँ अर्धशतक हो । अघिल्लो खेलमा उनले ९१ बलमा ७४ रन बनाएका थिए ।
अर्धशतक बनाउन चुके रोहित
सिरिजको दोस्रो खेलमा भारतीय टिमका ओपनर रोहित शर्मा अर्धशतक बनाउन चुकेका छन् । उनी आज १३.३ ओभरमा व्यक्तिगत ४२ रनमा आउट भए । उनलाई स्पिनर एडम जम्पाले एल्बीडब्लू आउट गरेका हुन् । पहिलो खेलमा रोहित १० रनमा मिचेल स्टार्कको सिकार भएका थिए ।
भारतले दोस्रो खेलमा २ खेलाडी परिवर्तन गरेको छ । उसले ऋषभ पन्तको स्थानमा मनीष पाण्डे र शार्दुलको ठाउँमा नवदीप शैनीलाई टिममा मौका दिएको छ । अष्ट्रेलियाले भने पहिलो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ ।
पहिलो खेलमा १० विकेटको लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा बदला लिने योजना बनाएको छ । घरेलु मैदानमा १५ वर्षपछि १० विकेटको फराकिलो हारपछि निराश बनेको भारतलाई सिरिज जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । यदि दोस्रो म्याच पनि गुमाएमा भारतले सिरिज नै एक खेल अगावै अष्ट्रेलियालाई सुम्पिन बाध्य हुनेछ ।
भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रवीन्द्र जडेजा, नवदीप सैनी, मोहम्मद शामी, कुलदीप यादव र जसप्रीत बुमराह।
अष्ट्रेलियाको प्लेइङ ११ः आरोन फिन्च, डेविड वार्नर, मार्नस लाबुशेन, स्टिभ स्मिथ, एस्टन टर्नर, एलेक्स क्यारी, एश्टन एगर, प्याट कमिन्स, मिचेल स्टार्क, झाय रिचर्डसन र एडम जाम्पा ।