वानडे सिरिजः दोस्रो खेलमा भारत विजयी, सिरिज बराबरी

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा अष्ट्रेलिया ३६ रनले पराजित भएको छ । भारतले दिएको ३ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.१ओभरमा सबै विकेट गुमाएर ३ सय ४ रन मात्र बनाउन सक्यो ।

उसका लागि स्टिभ स्मिथले १०२ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ९८ रन बनाए । यस्तै मार्नस लाबुसानेले ४६, कप्तान आरोन फिन्चले ३३, एश्टन अगरले २५, एलेक्स क्यारीले १८, केन रिचर्डसनले अविजित २४, डेविड वार्नरले १५, एश्टन टर्नरले १३ रनको योगदान दिए ।

बलिङमा मोहम्मद शामीले ३, नवदीप शैनी, कुलदीप यादव, रवीन्द्र जडेजाले २–२ र जसप्रीत बुमराहले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएका भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनायो ।

उसका लागि शिखर धवनले ९६, केएल राहुलले ८०, कप्तान विराट कोहलीले ७८, रोहित शर्माले ४२, रवीन्द्र जडेजाले अविजित २०, श्रेयस अय्यरले ७ र मनीष पाण्डेले २ रन बनाए ।बलिङमा अष्ट्रेलियाका एडम जम्पाले ३ र केन रिचडर्सनले २ विकेट लिए । आजको जितसँगै भारतले ३ खेलकाे सिरिज १–१ ले बराबरी गरेको छ । अष्ट्रेलिया–भारतबीचको ‘निर्णायक खेल’ आइतबार हुनेछ ।

केएल ८० रनमा ‘रन आउट’

भारतीय टिमका विकेटकीपरब्याट्सम्यान आज रनआउटको सिकार भए । उनी व्यक्तिगत ८० रन बनाएको अवस्थामा मिचेल स्टार्कको ओभरमा रनआउट भएका हुन् । राहुलले आज ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ८० रन बनाए । वानडे क्रिकेटमा उनको यो पाँचौ अर्धशतक हो । अघिल्लो खेलमा केएल ४७ रनमा आउट भएका थिए ।

कप्तान कोहली पाँचौपटक जम्पाको सिकार

कप्तान विराट कोहली आज पनि अष्ट्रेलियन स्पिनर एडम जम्पाको सिकार हुन पुगे । कप्तान कोहली ४३.१ ओभरमा व्यक्तिगत ७८ रन बनाएको अवस्थामा जम्पाको सिकार भएका हुन् ।

योसँगै जम्पाले विराटलाई पाँचौपटक आउट गर्न सफल भएका छन् । वानडे क्रिकेटमा कप्तान कोहलीको यो ५६ औँ अर्धशतक हो ।

शतक बनाउन चुके शिखर!

भारतीय टिमका ओपनर शिखर धवन शतक आजको खेलमा पनि शतक बनाउन चुकेका छन् । उनी २८.४ ओभरमा व्यक्तिगत ९६ रनमा आउट भएका हुन् । शिखरलाई केन रिचर्डसनले मिचेल स्टार्कको हातबाट क्याच आउट गराए ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा शिखरको यो २९ औँ अर्धशतक हो । अघिल्लो खेलमा उनले ९१ बलमा ७४ रन बनाएका थिए ।

अर्धशतक बनाउन चुके रोहित

सिरिजको दोस्रो खेलमा भारतीय टिमका ओपनर रोहित शर्मा अर्धशतक बनाउन चुकेका छन् । उनी आज १३.३ ओभरमा व्यक्तिगत ४२ रनमा आउट भए । उनलाई स्पिनर एडम जम्पाले एल्बीडब्लू आउट गरेका हुन् । पहिलो खेलमा रोहित १० रनमा मिचेल स्टार्कको सिकार भएका थिए ।

कमेन्ट गर्नुहोस्