जुरिचसँग मागियो निजगढ विमानस्थल निर्माण गर्न प्रस्ताव

काठमाडौंः स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।

गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले त्यसका लागि जुरिचसँग विस्तृत प्रस्ताव माग गरिएको जानकारी दिए । लगानी बोर्डले शुक्रबार सो प्रस्ताव पठाएको हो । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्