ओली–प्रचण्डबीच तीव्र भेटवार्ता – कहिले टु‌ंगो लाग्छ सभामुख ?

काठमाडौंः सभामुख कसलाई बनाउने भन्ने तीब्र विवादबीच सत्तासीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख निर्वाचनबारे शुक्रबार सौहाद्रपूर्ण छलफल भएको छ। कांग्रेससँग सत्य निरूपणबारेको छलफलपछि दुई अध्यक्षबीच बालुवाटारमा सभामुख निर्वाचनबारे छलफल भएको हो।

पूर्वमाओवादी कि पूर्वएमालेबाट सभामुख उम्मेदवार बनाउने भन्नेमा नेकपाभित्र तीब्र विवाद छ। पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा केही दिनअघि बसेको सचिवालय बैठकले सभामुख निर्वाचनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको थियो। आफूलाई सभामुख उम्मेदवार बनाए मात्र राजीनामा दिने उपसभामुख तुम्बाहाङफेको अडानपछि पार्टीभित्र तीब्र विवाद सिर्जना भएको थियो।

विगतमा पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले अहिले पनि पूर्वमाओवादीबाटै सभामुख बन्नुपर्ने पक्षमा दाहाल छन् भने पार्टी एकता भइसकेकाले भागबण्डा गर्न नहुने धारणा अर्का अध्यक्ष ओलीले राख्दै आएका छन्।

‘दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सभामुख उम्मेदवार भने टुंगो लागेको छैन।’

संसद्मा झण्डै दुई तिहाई बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार चयन नगर्दा संसद् बैठक एक महिनादेखि बन्धक बनेको छ। पुस ४ बाट सुरु भएको बैठक पटकपटक सूचना टाँसेर माघ ६ गतेलाई तोकिएको छ। ‘६ गतेको बैठक नसर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको छ’, थापाले भने, ‘६ गते सभामुख निर्वाचनको मिति तोकिन्छ होला।’ दुई अध्यक्षबीच शनिबार पनि छलफल हुने थापाले बताए। यो खबर अन्नपूर्ण पोस्ट दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्