काठमाडौंः सुनसरीको इनरुवामा भएको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज नेपाल पुलिस क्लबलाई ८५ नले हराउँदै आर्मीले उपाधि जितेको हो ।
फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । उसका लागि कुशल भुर्तेलले सर्बाधिक ३१ रन बनाए । बलिङमा आर्मीका सुशन भारीले ४, शाहव आलमले ३, कुशल मल्लले २ र बिक्रम सोबले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । खराव सुरुवात गरेको आर्मीलाई कप्तान विनोद भण्डारी र बिक्रम शोबले आठौं विकेटका लागि ५३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् । यी दुईबीचको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औं ओभरको पाचौं बलमा बिक्रमलाई १५ रनमा एलबीडब्लू आउट गर्दै तोडे ।
कप्तान विनोद भण्डारी ले सर्वाधिक ४० रनको योगदान दिए । पवन सरार्फलाई ठुलो सट प्रहार गरेका विनोद लङ अनमा अनिल कुमार शाहबाट क्याच हुन पुगे । विनोदले ६६ बलमा ४ चौका प्रहार गरे ।
आठौं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले ओपनर अनिल कुमार मण्डललाई ५ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले सुनिल धमलाबाट राजु रिजाललाई २२ रनमा क्याच गराए । राजुले ३६ बलमा ४ चौका प्रहार गरे ।
१४ औं ओभरको तेस्रो बलमा सागर ढकालले रोहित कुमार पौडेललाई ११ रनमा एलबीडब्लू आउट गरे । १७ औं ओभरको चौथो बलमा भिम सार्कीलाई ललितले ७ रनमा बोल्ड आउट गरे ।
२० औं ओभरको चौथो बलमा कुशल मल्ललाई सागरले १३ रनमा विकेटकिपर दिलिप नाथबाट स्टम्पिङ आउट गराएपछि आर्मी ५–७७ को कमजोर अवास्थामा पुगेको थियो । कुशलले १० बलमा २ चौका प्रहार गरे । हरि बहादुर चौहान ३ रनमा आउट भए ।
सागरले २८ औं ओभरको पहिलो बलमा दिलिपबाट राजेश पुलामी मगरलाई ३१ रनमा क्याच गराएपछि आर्मी संकटमा परेको थियो । राजेशले ४९ बलमा ४ चौका प्रहार गरे । सुशन भारी ८ र साहब आलमले ४ रन जोडे ।
पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रले ९.५ ओभरमा २७ रन खर्चेर ३ र पवन सरार्फले १ विकेट लिए ।