काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) समर्थकको लागि मात्र होइन खेलाडीको लागि पनि उत्तिकै चासोको लिग हाे । आइपीएलमा डेब्यू गर्ने मौका पाएका कयौं खेलाडी अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किँरहेका छन् ।
आइपीएलमै गरेको प्रदर्शनका कारण विश्वका अरु चर्चित लिगमा मौका पाउने सम्भावना पनि उत्तिकै हुन्छ । आसन्न आइपीएलमा पनि केही नयाँ र विश्व क्रिकेटमा चर्चित क्रिकेटरले डेब्यू गर्ने सम्भावना छ । जसमा–
१. सेल्डन कोट्रेल (किंग्स इलाभेन पञ्जाव) पन्जाबले कोट्रेलाई केही महिना अघि कोलकातामा भएको अक्सनबाट साढे ८ करोडमा टिममा अनुबन्ध गरेको थियो । अक्सनपछि झनैं चर्चाका आएका उनले आइपीएल २०२० मा डेब्यू गर्ने सम्भावना बलियो छ । वेष्ट इन्डिज क्रिकेट टिमका फास्ट बलर कोट्रेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा ८ खेलमा १२ विकेट लिएका थिए ।
२. टम ब्यान्टन (कोलकाता नाइट राइडर्स) इंग्ल्याण्डका यी विस्फोटक युवा ब्याट्सम्यानलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले अक्सनबाट १ करोड रुपैयाँमा टिममा भित्र्याएको थियो । ब्यान्टन पछिल्लो एक वर्षयता विश्वचर्चित लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिगमै उत्कृष्ट प्रदर्शनका कारण उनले २०१९ मा राष्ट्रिय टिमबाट पनि डेब्यू गरिसकेका छन् ।
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा पनि ब्यान्टनले शानदार ब्याटिङ गरे । केही दिनअघि उनले बीबीएलमा १६ बलमा अर्धशतक पूरा गरेका थिए । र, ब्यान्टनले सिड्नी थन्डरविरुद्ध अर्जुन नायरको बलमा ५ बलमा ५ छक्का प्रहार पनि गर्न सफल भएका थिए । लगातार शानदार ब्याटिङ गरिरहेका ब्यान्टन आइपीएल २०२० मा डेब्यू गर्नसक्ने मध्येका बलिया खेलाडी हुन् ।
३. जोश हेजलवड (चेन्नई सुपर किंग्स) चेन्नईले यी अष्ट्रेलियन फास्ट बलरलाई अक्सनबाट २ करोडमा टिममा अनुबन्ध गरेको थियो । अष्ट्रेलिया टिमका महत्वपूर्ण सदस्य उनले शानदार प्रदर्शन गर्दै आएका छन् । गत सिजनमा उनी मुम्बई इन्डियन्समा थिए । तर, हेजलवडले खेल्ने मौका भने पाएनन् । महँगो मूल्यमा टिममा भित्र्याएका उनलाई चेन्नईले मौका दिनसक्छ ।
४. एलेक्स क्यारी (दिल्ली क्यापिटल्स) अष्ट्रेलियाका विकेटकीपर–ब्याट्सम्यान क्यारीले आफ्नो टिमका लागि छैटौं नमबरमा आएर शानदार प्रदर्शन गर्दै आएका छन् । आइपीएल अक्सनमा उनलाई महंगो मूल्यमा दिल्लीले टिममा भित्र्याएको छ । यदि टिमका अर्का विदेशी खेलाडी शिमरोन हेटमायरको ब्याट नचलेमा क्यारीले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो रहन्छ । साथै उनी विकेटकीपर पनि हुन् । यदि ऋषभ पन्त घाइते भएमा आइपीएलमा क्यारीले डेब्यू गर्ने मौका पाउन सक्छन् ।
५. फाबियन आलेन (सनराइजर्स हैदराबाद) आइपील अक्सनमा फानियनलाई हैदराबादले ५० लामा टिममा भित्र्याएको थियो । योपटक हैदराबादमा स्टार अलराउन्डर शाकिवअल हसन छैनन् । उनको स्थानमा टिममा फाबियनले मौका पाउन सक्छन् । वेष्ट इन्डिजका फाबियन छक्का प्रहार गर्न माहिर छन् ।