कैलालीकाे भादागाउँमा पर्यटन प्रवद्र्धनका लागि होर्डिङ बोर्ड राखियो

कैलालीः पर्यटन प्रवद्र्धनका लागि धनगढीको भादागाउँ होमस्टे होर्डिङ बोर्ड राखिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि धनगढी लेडी जेसिजको आयोजनामा थारु गाउँको होमस्टे जाने वाटोमा होर्डिङ बोर्ड राखिएको हो ।

पर्यटन प्रबद्र्धनका लागि धनगढी लेडी जेसिजले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादागाउँमा सुदूरपश्चिम प्रदेशको पर्यटन झल्कने होर्डिङ बोर्ड राखिएको धनगढी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी शाहीले बताइन् ।

वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले रिवन काटेर होर्डिङ वोर्ड राख्ने कामको उद्घाटन गर्नुभएको थियो । कोहीलही ताल जाने, वेहडावावा जाने र होमस्टे जाने ठाउँमा होर्डिङ बोर्ड राखिएको हो । होर्डिङ बोर्डको सहायताले सो क्षेत्रमा जाने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । होर्डिङ बोर्ड राख्ने कार्यक्रममा धनगढी लेडी जेसिज र धनगढी जेसिजका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

भादा होमस्टेको आकर्षण

भादामा थारू समुदायको परम्परागत जीवनशैलीको अवलोकन गर्न सकिन्छ । पर्यटकहरूका लागि तयार गरिएका घर पनि परम्परागत तवरले नै निर्माण भएका छन् । चारैतिर जंगलले घेरिएको भादा गाउँ निकै आकर्षक गाउँ हो । गाउँ नजिकै रहेको जोगिन्या ताल, पाँच किलोमिटर मात्रै टाढा रहेको बेहडाबाबा मन्दिर, गणेश सामुदायिक वन पर्यटकका लागि अवलोकन गर्ने महत्वपूर्ण स्थान हुन् ।

ताल वरपर क्षेत्रको शान्त वातावरणले त्यहाँ घुम्न जाने जो कोहीको मन लोभ्याउँछ । त्यहाँको सामुदायिक वन जंगली जनावर र जडीबुटीको भण्डार नै छ । वन क्षेत्रमा स–साना जंगली जनावर सजिलै देख्न सकिन्छ । ताल र बेहडा बाबा क्षेत्रको अवलोकनमा पनि पर्यटकलाई कुनै झन्झट छैन । पर्यटकलाई घुमाउन दुई ओटा लहरू (परम्परागत गोरूगाडा) तम्तयार हुन्छन् । लहरूमा एक पटक चारजनासम्म बस्न मिल्छ । लहरूमा बसे बापत केही शुल्क भने तिर्नुपर्ने हुन्छ ।

चारैतिर जंगलले घेरिएको भादा गाउँ निकै आकर्षक गाउँ हो । पर्यटकलाई गाउँ घुमाउन गाइडको समेत व्यवस्था छ । तिनले विभिन्न जानकारी दिँदै गाउँ घुमाउँछन् । खानपिनका लागि थारू समुदायमा पाइने प्रायः सबै परिकार यहाँ पाइन्छ । पर्यटकलाई नाचगान देखाउन सांस्कृतिक टोली बनाइएको छ ।

भादा कसरी पुग्ने ?

भादा जानका लागि थुप्रै बाटा छन् । तर, ती कतै कच्ची त कतै ग्राभेल गरिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको दुई ठाउँबाट भादा पुग्न सकिन्छ । ती चौमाला गाविसको झिल र राजीपुर हुन् । झिलबाट बेहडाबाबा हुँदै सात किलोमिटरको यात्रा पार गरेपछि भादा पुगिन्छ । त्यस्तै, राजीपुरको बाटो अलि घुमाउरो छ तर सहज छ । त्यहाँबाट भादा पुग्न १२ किलोमिटरको यात्रा तय गर्नुपर्छ ।

सदरमुकाम धनगढीबाट भादा जाने तीन ओटा बाटा छन् । जसमध्ये सबैभन्दा छोटो बाटो क्याम्पस रोडबाट थोरै पूर्व मोतीचोकबाट बायाँ हुँदै जाने बाटो हो, जसको दूरी १५ किलोमिटर मात्रै छ । मोतीचोकबाट बायाँ मोडेपछि सोझै केही जंगल क्षेत्र पार गरेपछि पटेला गाउँ पुगिन्छ । पटेला गाउँपछि खुटिया नदी तर्नुपर्छ । जहाँ, साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि काठेपुल बनाइएको छ ।

अन्य सवारी साधनले नदी सहजै पार गर्न सक्छन् । नदी तरेपछि अर्को गाउँ लगत्तै शिवगंगा नदी आइपर्छ, त्यहाँ पनि खुटिया नदीमा जस्तै काठेपुल छ । त्यसपछि सुरू हुन्छ जंगल क्षेत्र, जहाँ थुप्रै बाटा छन् । हरेक दुईओटा बाटो आउनेबित्तिकै दाहिने बाटो समात्नुपर्छ । दाहिने बाटो समात्दै अघि बढेपछि तिलकपुरुवा गाउँ पुगिन्छ । त्यसको केही मिनेटमै आउने एउटा अर्को पुल तरेपछि गन्तव्य स्थल भादा गाउँ पुगिन्छ ।

झिलबाट बेहडाबाबा हुँदै सात किलोमिटरको यात्रा पार गरेपछि भादा पुगिन्छ । त्यस्तै, राजीपुरको बाटो अलि घुमाउरो छ तर सहज छ । त्यहाँबाट भादा पुग्न १२ किलोमिटरको यात्रा तय गर्नुपर्छ । एउटा अर्को बाटो क्याम्पस रोडबाट सोझै फूलबारी जाने बाटो छ । जुन खुटिया नदी पार गरेपछि बायाँतर्फको बाटो समात्नुपर्छ । यो १७ किलोमिटर टाढा छ । यहाँबाट उर्मा गाविसको कार्यालय हुँदै भादा पुगिन्छ । अर्को सबैभन्दा लामो बाटो २५ किलोमिटरको छ, जुन जोखर तालबाट पथरी हुँदै बेहडाबाबा मन्दिरसम्म पुग्छ । त्यस बाटोबाट गए पनि खुटिया र शिवगंगा नदी पार गर्नैपर्छ ।

साधन के प्रयोग गर्ने ?

भादा गाउँ जान कुनै पनि सार्वजनिक यातायातको साधन छैन । जुन बाटोबाट जाँदा पनि आफैंले व्यवस्था गरेको सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । सबैभन्दा उपयुक्त साधन मोटरसाइकल या साइकल नै हुन् । चारपांग्रे साधन पनि लैजान सकिन्छ । त्यसो त स्थानीय बासिन्दाले पर्यटकका लागि लहरूको व्यवस्था गरेका छन् । त्यसमा यात्रा ढिलो हुन्छ तर लहरूमा बसेर चारैतिर अवलोकन गर्दै जानुको मजा नै बेग्लै छ ।

कति खर्चिलो ?

भादा आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकका लागि हो । विशेष गरेर बाह्य पर्यटकका लागि यो एकदमै उपयोगी हुन सक्छ । अझ थारू समुदायमा हराउँदै गएको परम्परागत पक्षबारे अध्ययन गर्नका लागि बढी उपयोगी हुन सक्छ । थारू समुदायको मात्रै बसोबास रहेको भादा गाउँ आफैंमा एक अध्ययन गर्नैपर्ने स्थान हो । कारण, यहाँको दैवी शक्तिले थारू बाहेक अरू कोही जाति स्थायी बसोबास गरेर टिक्न सक्तैन भन्ने गुरुबाहरूको भनाइ छ । अझ त्यसमाथि स्थानीय बासिन्दाले यो अवसर जुराएपछि अनुसन्धानकर्ताका लागि सुनमा सुगन्ध हुन सक्छ ।

कामको धपेडीबाट केही दिन थकान मार्न खोज्नेका लागि भादा गाउँ उपयुक्त थलो बन्न सक्छ । बजार क्षेत्रको बसाइभन्दा भादा गाउँ एकदमै सस्तो छ । एक जना अट्ने ओछ्यानको एक रातको मूल्य एक सय रुपैयाँ हो । अझ दुई जना अट्ने ओछ्यानको त डेढ सय मात्रै तिरे पुग्छ । खानेकुराको मूल्य भने परिकारपिच्छे फरक रहेको छ । जाडोमा आगो ताप्दै खानपिन गर्ने प्रयोजनले छुट्टै घरहरू बनाइएका छन् । हरेक घरका बीचमा अगेना राखिएको र ती अगेनाको चारैतिर आठजनाको समूह बसेर रमाइलोसँग खानपिन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

एक रातमा कति जना बस्न सक्छन् ?

२०६८ सालमा स्थापना भएको होमस्टेमा पर्यटकका लागि गाउँमा १९ ओटा घर निर्माण भएका छन् । जसमा एक रातमा ५७ जनासम्म सुत्न सक्ने व्यवस्था छ । आन्तरिक र बाह्य गरी ५० हजार पर्यटकको आगमन भइसकेको होमस्टेका अध्यक्ष लक्ष्मीनारायण र्चाधरी बताउँछन् । नवनिर्मित घरमा ओढ्ने ओछ्याउनेदेखि सबै कुरा नयाँ नै व्यवस्था गरिएको छ । पर्यटककै लागि भनेर शौचालय र स्नान घर छुट्टै तयार छन् । खानेपानी र बिजुलीको समेत व्यवस्था छ ।

सुरक्षाको अवस्था

पर्यटकको सुरक्षाप्रति स्थानीय बासिन्दा संवेदनशील छन् । उनीहरूले पर्यटकका लागि केही नीति–नियम समेत बनाएका छन् । गाउँका युवालाई स्वयंसेवकक रूपमा खटाइन्छ । उनीहरूले पर्यटकलाई असुरक्षा महसुस भएका बेला सुरक्षा दिने गर्छन् । तर, स्थानीय बासिन्दाको नीति नियममा नबसेर अरूलाई असर पुर्‍याउने पर्यटकलाई स्वयंसेवकले आफ्नो नियन्त्रणमा राख्न सक्छन् । परिवार सहित एक पल्ट घुम्न जाने पो हो कि भादा थारू गाउँ ?

कमेन्ट गर्नुहोस्