मौसममा आजदेखि क्रमिक सुधार

काठमाडौंः केही दिनदेखि जारी हिमपात तथा वर्षा आइतबारबाट भने करिब–करिब रोकिने भएको छ । हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले आजदेखि देशभरको मौसम सुध्रिँदै जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘तर पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगमा भने आज पनि मौसम बदली हुने सम्भावना छ,’ मौसमविद् पौडेलले भने, ‘साथै पूर्व तथा सुदूरपश्चिमका पहाडी भेगका एकरदुई स्थानमा वर्षा र उच्च हिमाली भेगका एकरदुई स्थानमा हिमपात हुन सक्छ।’

यसबाहेक काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र पूरै (तराई–पहाड) र अन्य क्षेत्र (पूर्व–पश्चिम) का तराई भूभागमा आज सामान्यतया मौसम सफा रहने देखिएको उनले बताए।

‘यद्यपि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका पहाडी भेगमा आंशिक बदली हुन सक्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘कहिले घाम कहिले बादल हुन सक्ने देखिन्छ, तर पूरै धुम्मचाहिँ हुँदैन आज।’

यसैबीच काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा अहिले बिहान कुहिरो–हुस्सु देखिएको छ । तर यो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली बाहिरिए पनि स्थानीय रूपमा विकास हुने न्यून चापीय प्रणालीको प्रभावले कतै कतै मौसम बदली तथा छिटफुट वर्षा गराउने उनले बताए।

 

कमेन्ट गर्नुहोस्