म्युजिक नेपालद्वारा आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको ‘कपिराइट’ कब्जा

काठमाडौंः सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो । मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन । दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए । अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत– मेरो मखमली घामको झुल्काझुल्का मायालु ।

सबैभन्दा ठूलो कमाइ श्रोताको माया हो । प्रेमध्वज कृतज्ञ छन्, तर उनी आश्चर्यमा परे जब उनले दुःखले रेकर्ड गराएका गीत अचानक म्युजिक नेपालको डिजिटल प्लेटफर्ममा बज्न थाले । ‘मलाई कुनै जानकारी नदिई त्यो एल्बमका गीत म्युजिक नेपालले आफ्नै कपिराइट बनाएछ । युट्युब, सिआरबिटी, पिआरबिटी, आइट्युन्स, अमेजनलगायत विभिन्न डिजिटल प्लेटफर्ममा बेची पनि सकेछ । यत्रो ठूलो बदमासी कुनै सर्जकले कल्पना पनि गर्न सक्दैन,’ उनी भन्छन् ।

यसबारेमा सोधखोज हुन थालेपछि म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले फोन गरेर प्रेमध्वजलाई भने, ‘तपाईंलाई सम्मान गर्ने तयारी गर्दै छौँ, नगद पुरस्कार पनि दिन्छौँ ।’ प्रेमध्वजले जवाफ फर्काए, ‘तपाईंको सम्मान र पुरस्कार म लिन सक्दिनँ । मैले मुम्बईमा दुःखले रेकर्ड गरेको गीत तपाईंले सोध्दै–नसोधी बेचिदिनुभयो । तपाईंको पुरस्कार होइन, क्षतिपूर्ति चाहिन्छ ।’

त्यो गीत मात्र होइन, उनले रेडियो नेपालमा रेकर्ड गराएकामध्ये करिब ४० गीत विनाअनुमति म्युजिक नेपालले बिक्री–वितरण गरिरहेको छ । ‘मेरो छोराले अमेरिकाबाट खबर गरेपछि मात्र थाहा पाएँ । त्यस्तै, रत्न रेकर्डिङबाट उत्पादन भएका मेरा अरू गीत पनि उनीहरूले विनाअनुमति व्यवसाय गरिरहेका छन्,’ प्रेमध्वजले भने ।

०४६/४७ तिर उनले केही गीत म्युजिक नेपालमै पनि रेकर्ड गराएका थिए । त्यसवेला ‘घाइते जवानी’ एल्बममा १० वटा गीत रेकर्ड भएका थिए । जब कि, त्यो गीत गाएको मात्र होइन, संगीत पनि उनले नै तयार पारेका हुन् । तर, रोयल्टीबापत उनले के पाए रु अहिलेसम्म जम्मा ४५ सय । उनी भन्छन्, ‘तर, त्यति ठूलो मिहिनेतबाट मलाई ०५१ मा एक हजार दिएका थिए । त्यस्तै, १०/१२ वर्षपछि रोयल्टी भनेर ३५ सय रुपैयाँ दिएका थिए ।’ त्यसपछि उनले आफ्ना सिर्जनाबारे कुनै जानकारी पाएका छैनन् ।

म्युजिक नेपालमा ०४६ मा गीत रेकर्ड गर्दा सम्झौता तीन वर्षको मात्र थियो । तर, सिर्जनाहरू म्युजिक नेपालले ३० वर्षसम्म बेचिरहेको छ । ‘हुन सक्छ कतिपय गीत उनीहरूले गीतकारबाट अनुमति लिएका होलान्, तर एउटा सर्जक म हुँ, गीतकार, संगीतकार र गायक तीनै पक्षसँग सम्झौता नगरेसम्म त्यसको सर्वाधिकार कुनै पनि पक्षले प्राप्त गर्न सक्दैन,’ कानुनी उपचारको तयारी गरिरहेका प्रेमध्वज भन्छन् ।

अम्बर गुरुङले कति गीत गरे, यकिन तथ्यांक छैन । तर, सबैजसो गीत म्युजिक नेपालले लगेको छ । अम्बर गुरुङका छोरा किशोर भन्छन्, ‘मसमेत सहभागी भएर सन् १९८६/८७ तिर पुल्चोकको स्याङ स्टुडियोमा ‘कहिले लहर कहिले तरंग’ एल्बम रेकर्ड गराएका थियौँ । त्यतिवेला क्यासेट निस्किएको थियो । पछि त्यो एल्बमलाई सिडीमा निकाल्न म्युजिक नेपालले सम्झौता ग(यो । त्यही सम्झौताका आधारमा एल्बमका गीतहरू म्युजिक नेपालले संसारभर बेचिरहेछ ।’

अम्बर गुरुङ सक्रिय रहुन्जेल म्युजिक नेपालले कति रोयल्टी दियो प्रेमध्वज प्रधानकै उदाहरणबाट अनुमान गर्न सकिन्छ । तर, सन् २०११ यता एक रुपैयाँ पनि नदिएको दाबी गर्छन् किशोर । ‘मैले एउटा कार्यक्रममा म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई भेटेको थिएँ । गीत कहाँ–कहाँ, कसरी राखिएको छ र बेचिएको छ त्यसको विवरण दिनुस् भनेको थिएँ । तर, उहाँले अहिलेसम्म चासै राख्नुभएको छैन,’ उनी भन्छन्, ‘अझ, रेडियो नेपालमा बुबाले रेकर्ड गराउनुभएका गीत चाङका चाङ उठाएर म्युजिक नेपालले लगेको रहेछ । ती गीतबाट कति कमाइ भयो हामीलाई जानकारी छैन ।’

रेडियो नेपालमा रेकर्ड भएका र अम्बर गुरुङले संगीत भरेका गीतको सर्वाधिकार म्युजिक नेपालको भनेर डिजिटल प्लेटफर्ममा आउँछ । यो वास्तविकताले किशोरलाई आश्चर्यचकित पार्छ । ‘बुबाका गीतमा म्युजिक नेपालको सर्वाधिकार कसरी भयो ? अझ, हामीले गीत अपलोड गर्न खोज्दा म्युजिक नेपालले कपिराइट दाबी गर्छ र हाम्रो कन्टेन्ट अपलोड हुँदैन । योसम्मको ठगी हामीले कसरी सहने ?’ उनी प्रश्न गर्छन् ।

अम्बर गुरुङका छोराजस्तै आक्रोशित छन् भक्तराज आचार्यका छोरा सत्य र स्वरूपराज । भक्तराजसँग म्युजिक नेपालले विभिन्न एल्बमका लागि थरीथरीका सम्झौता गरेको छ । ०४३ मा भक्तराजसँग म्युजिक नेपालले पहिलोपटक समर्पण एल्बमका लागि सम्झौता गरेको थियो । ‘त्यसमा केही भक्तिगान छन् । तीन÷तीन महिनामा रोयल्टी भुक्तानी गर्ने भनिएको छ, तर हामीलाई हिसाब–किताबबारे जानकारी कहिल्यै पनि दिएनन्,’ सत्यराज भन्छन् । अर्को एल्बम समर्पण–२ का लागि ०५० मा भक्तराज र म्युजिक नेपालबीच सम्झौता भएको थियो । त्यसमा ११ गीत छन् । त्यस्तै, ०५७ मा आधुनिक गीतको एल्बम ‘हजार सपना’का लागि सम्झौता भएको थियो ।

यो एल्बममा ‘जति चोट दिन्छौ, देऊ मायालु’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ’ जस्ता १२ गीत छन् । सबै गीत रेडियो नेपालमा रेकर्डिङ भएका हुन् । उत्पादन स्वामित्व उसैको हुन्छ । तर, भक्तराजलाई झुक्याएर सर्वाधिकार नै म्युजिक नेपालमा हुने सम्झौता गरिएको छ । ‘अझ यो करारनामा म्युजिक नेपाल उद्योग सञ्चालन भएसम्म लागू हुने भनिएको छ । यो कस्तो खालको करार हो रु’ सत्यराज प्रश्न गर्छन्, ‘त्यस्तै, ०५७ सालमै समर्पण–३ का लागि सम्झौता भएको थियो । त्यो सम्झौतामा समय–सीमा नै तोकिएको छैन ।’

चारवटा एल्बमका यति धेरै गीत हिट भए तर भक्तराजलाई म्युजिक नेपालले वर्षमा आठ हजार रुपैयाँमात्र दिन्थ्यो । ‘त्यो पनि अधिकारको रुपमा होइन, बक्सिसजस्तो गरेर । हामीले आवाज उठाउन थालेपछि ‘तपाईंहरूको रोयल्टी बढेर वार्षिक १७ हजार पुगेको छ’ भनेका थिए तर हामीले लिएका छैनौँ,’ छोरा भन्छन् ।

बिरामी बाबुको सहयोगार्थ गत वैशाखमा भक्तराज आचार्य सहयोग साँझ भएको थियो । त्यहाँ छोराहरूले बाबुको गीत ‘हजार सपनाहरूको माया लागेर आउँछ’ गाएका थिए, जसको भिडियो उनीहरूले युट्युबमा अपलोड गर्न खोजेका थिए । ‘तर, विडम्बना १’ सत्यराज भन्छन्, ‘म्युजिक नेपालले कपीराइट दाबी गरेको भनेर युट्युबले हटाइदियो । यहाँसम्मको अन्याय छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

 

कमेन्ट गर्नुहोस्