काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा पनि अष्ट्रेलिया टीमका युवा ब्याट्सम्यान मार्नस लाबुशेनले अर्धशतक बनाएका छन् । उनले ६० बलमा ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।
वानडे क्रिकेटमा लाबुशेनको यो पहिलो अर्धशतक हो । टेष्ट क्रिकेटमा लगातार शानदार प्रदर्शन गरेकै कारण उनले पहिलोपटक वानडे सिरिजमा मौका पाएका हुन् । लाबुशेनले सिरिजको दोस्रो खेलमा ४६ रन बनाएका थिए ।
टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ३१ ओभरमा २ विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।
स्मिथले पूरा गरे वानडेमा २५ औँ अर्धशतक
भारतसँगको वानडे सिरिजको ‘निर्णायक म्याच’मा पनि अष्ट्रेलिया टीमका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले अर्धशतक पूरा गरेका छन् । उनले ६३ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । वानडे क्रिकेटमा स्मिथको यो २५ औं अर्धशतक हो । उनले जारी सिरिजको दोस्रो खेलमा ९८ रन बनाएका थिए ।
‘निर्णायक म्याच’मा चलेन वार्नर र फिन्चको ब्याट
सिरिजको पहिलो खेलमा अष्ट्रेलियन ओपनरद्वय आरोन फिन्च र डेविड वार्नर दुवैले शतक बनाएका थिए । तर, दोस्रो र तेस्रो म्याचमा भने जम्न सकेनन् । आज वार्नर ३ रनमै आउट भए । उनलाई आज मोहम्मद शामीले ३।२ ओभरमा आउट गरे ।
पहिलो खेलमा अविजित १२८ रन बनाएका वार्नरले दोस्रो म्याचमा १५ रनमै आउट भएका थिए । अष्ट्रेलियाका अर्का ओपनर फिन्च पनि आज सस्तैमा आउट भए । उनी ८।६ ओभरमा १९ रनमा रनआउटको सिकार भएका हुन् ।
अष्ट्रेलियाले आज टीममा एक खेलाडी परिवर्तन गरेको छ । उसले केन रिचडर्सनको स्थानमा जोश हेजलउडलाई मौका दिएको छ । घरेलु टीम भारतले भने अघिल्लो खेलकै ‘प्लेइङ सेट’लाई मैदान उतारेको छ ।
भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल, मनीष पाण्डे, रवीन्द्र जडेजा, कुलदीप यादव, नवदीप सैनी, मोहम्मद शामी र जसप्रीत बुमराह ।
अष्ट्रेलियाको प्लेइङ ११ः आरोन फिन्च (कप्तान), डेविड वार्नर, मार्नस लाबुसेन, स्टिभ स्मिथ, एलेक्स क्यारी, एस्टन टर्नर, एस्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड र एडम जम्पा ।