काठमाडौंः प्रतिनिधिसभाका रिक्त सभामुखमा नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सम्पन्न बैठकले प्रचण्ड निकट सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आइतबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटाको उम्मेदवार बनाउने सहमति गरेका थिए । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको छ ।
सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ । सोमबारदेखि सभामुखको निर्वाचन प्रक्रिया शुरू हुने बताइएको छ ।
संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
को हुन् सापकोटा ?
सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते जन्मिएका सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक र ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।
०३५ सालबाट राजनीतिमा सक्रिय भएपछि पटक–पटक गरी दुई वर्ष जेल जीवन बिताएका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।
सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । प्रधानाध्यापक छोडेर पूर्णकालीन राजनीतिमा होमिएका सापकोटा ०५२ सालबाट माओवादी शान्ति प्रक्रियामा नआउँदासम्म भूमिगत भएका थिए । उनका तीन छोरा छन् ।