मन्त्रीलाई आत्तिने, मात्तिने र अयोग्य हुने छुट छैन: मुख्यमन्त्री राई

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री सहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिए । उनले भने, ‘महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो । तपाईहरुले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्नुहुनेछ ।’

मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशनसमेत दिए । उनले निर्देशन दिँदै भने, ‘काम गर्न तपाईहरु अल्मलिनु पर्दैन् । कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।’

कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिँदै मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नव नियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले चार जना प्रदेश सभा सदस्यहरुलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेका छन् । जसमा रामबहादुर मगरलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

कमेन्ट गर्नुहोस्