अष्ट्रेलियाविरुद्ध रोहित शर्माको शानदार शतक

काठमाडौंः अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको ‘निर्णायक म्याच’मा भारतीय टीमका ओपनर रोहित शर्माले शतक पूरा गरेका छन् । उनले १ सय १० बलमा ५ छक्का र ८ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

वानडे क्रिकेटमा रोहितको यो २९ औं शतक हो । अष्ट्रेलियाविरुद्ध भने उनको यो आठौं शतक हो । यो समाचार तयार पार्दासम्म भारतले ३० ओभरमा १ विकेट गुमाएर १ सय ५६ रन बनाएको छ ।

केएल १९ रनमा आउट

अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य पछ्यारहेको भारतले पहिलो विकेटका रुपमा ओपनर केएल राहुललाई गुमाएको छ । उनी १२.३ ओभरमा व्यक्तिगत १९ रनमा आउट भए । राहुललाई एश्टन अगरले एल्बीडब्लू आउट गरेका हुन् ।

राहुल आज शिखर धवनको स्थानमा ओपनिङमा आएका थिए । चोटका कारण शिखर आज ओपनिङमा आएका थिएनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनायो ।

उसका लागि अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले शतक बनाए । उनले १३२ बलमा १४ चौका र १ छक्काको मद्दतमा १ सय ३२ रन नबाए । वानडे क्रिकेटमा स्मिथको यो नवौं शतक हो । अघिल्लो खेलमा स्मिथ ९८ रनमा आउट भएका थिए ।

अष्ट्रेलियालाई २ सय ८७ यो लक्ष्यमा पुर्‍याउन मार्नस लाबुशेनले ५४, एलेक्स क्यारीले ३५, आरोन फिन्चले १९ रनको योगदान दिए । अष्ट्रेलियाका अन्य खेलाडीले भने दोहोरो अंकमासेमत रन बनाउन सकेनन् । बलिङमा मोहम्मद शामीले ४, रवीन्द्र जडेजाले २, कुलदीप यादव र नवदीप सैनीले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्