काँग्रेसले बुझायो सरकारलाई विरोधपत्र

काठमाडौंः नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठनसम्बन्धी विधेयकको विरोध गर्दै आइतबार सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाएको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहितको सबै जिल्लाका जिल्ला कार्यसमितिले दुईवटा विधेयकको विरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।

प्रवक्ता शर्माले भने, ‘सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्न लागेकाले विरोधपत्र बुझाइएको हो ।’

विरोधपत्र बुझाउन कांग्रेसका नेता तथा कार्यकर्ता जुलुस र ब्यानरसहित सम्बन्धित जिल्लाको प्रशासन कार्यालय पुगेको जानकारी प्रवक्ता शर्माले दिए ।

काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँको नेतृत्वमा गएको टोलीले काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई विरोधपत्र बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २८ गते विरोधपत्र बुझाउन निर्देशन जारी गरे पनि केही जिल्ला सभापति काठमाडौंमा आएका कारण विरोधपत्र बुझाउने कार्यक्रम आइतबारलाई सरेको थियो ।

कमेन्ट गर्नुहोस्