कालापानीलाई सडक सञ्जालसँग जोड्ने टिंकर सडक निर्माणलाई तीव्रता

काठमाडौंः कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­–झुलाघाट­–दार्चुला­ टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पुस १५ गते बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा कालापानीसम्म बाटो बनाउन सरकारले बजेट छुट्ट्याएको जानकारी दिए ।
सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यो सडक निर्माणलाई सुदूरपश्चिमको ‘माइलस्टोन’ आयोजनाको रूपमा अगाडि बढाइएको बताए । उनले भने, ‘यो सडक निर्माण भइसकेपछि कञ्चनपुरको ब्रह्मदेवदेखि झुलाघाट, दार्चुला, र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भएकाले उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’

याे पनि पढ्नुस  देश विकासमा युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छः गृहमन्त्री थापा

कठिन भूगोल र कडा चट्टानका कारण निर्माण कार्य आशातीत अगाडि बढाउन कठिन भएको बताउँदै उनले विस्फोटक पदार्थको सहायताले काम अगाडि बढाउन नेपाली सेनासँग छलफल भइरहेको जानकारी दिए । टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन । आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा ३२ करोड ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

याे पनि पढ्नुस  गृहमन्त्री थापाले भने, ‘भारतको ‘काउन्टर’ मा सीमा सुरक्षा बल बढाउँछौं’

दार्चुला­टिङ्कर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले यो सडकमा १२५ किलोमिटर ट्र्याक खोल्ने काम भइसकेको जानकारी दिए । महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको डबल लेनको यो सडकको कञ्चनपुरदेखि टिङ्करसम्को दूरी ४२५ किलोमिटर छ । उनका अनुसार डडेल्धुरामा एघार किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर गरी १२५ किलोमिटर ट्र्याक खोलिएको हो । यस सडक आयोजनाअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । (फाइल तस्बिर)

याे पनि पढ्नुस  बादलको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

 

कमेन्ट गर्नुहोस्