बुटवलः प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा–१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।
१९९४ सालको माघ १९ गते प्यूठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए ।
२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्य सम्म भए ।
पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो ।