बीबीएलः ‘टप–५’मा उक्लिए सन्दीप लामिछाने

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिनेको सूचीमा ‘टप–५’मा उक्लिएका छन् । आज सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएसँगै सन्दीप ‘टप–५’मा उक्लिएका हुन् ।

मेलबर्न स्टार्समा आवद्ध सन्दीपले सिक्सर्सविरुद्ध डेनियल ह्यूजेस र जोस फिलिपलाई आउट गरे ।

जारी बीबीएलमा सर्बाधिक विकेट लिने बलरको सूचीमा डानियल साम्स छन् । उनले ११ खेलमा २० विकेट लिएका छन् । यो सूचीको दोस्रोमा हरिस रौफ, तेस्रोमा राशिद खान, चौथोमा टम कुरान र पाँचौमा सन्दीप छन् ।

आज टस हारेर ब्याटिङको मौका पाएको सिक्सर्सले १४ ओभरमा ४ विकेट गुमाएर १ सय ४३ रन बनायो ।  वर्षाका कारण आज खेल १४ ओभरमा झारिएको हो ।

सिक्सर्सका लागि कप्तान मोइसेस हेनरिक्सले शानदार ब्याटिङ गरे । उनले ३१ बलमा ८ छक्का र २ चौका प्रहार गर्दै ७२ रन बनाए । यस्तै जेम्स विन्सले अविजित ४१, डेनियल ह्यूजेसले १४ र जोस फिलिपले १० र टम कुरानले २ रनको योगदान दिए । बलिङमा मेलबर्न स्टार्सका सन्दीप लामिछानेले २ र डानियल वरवलले १ विकेट लिए ।

जारी प्रतियोगितामा मेलबर्न स्टार्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत सिजन उपविजेतासमेत रहेको मेलबर्नले ११ म्याच खेल्दा १० खेलमा जित हात पारेको छ । र, उसले तालिकामा २० अंक बटुलिसकेको छ ।

मेलबर्न तालिकाको शीर्ष स्थानमा रहँदा सिक्सर्स तेस्रो नम्बरमा छ । उसले ११ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ । र, सिक्सर्सले १३ अंक बनाएको छ । मेलबर्न यो सिजनमा पनि ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल र सिक्सर्समा मोइसेस हेनरिक्स कप्तान रहेका छन् । सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन् ।

सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११– मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याडिन्सन, ग्लेन म्याक्सवेल, सेबास्टियन गोच, निक लार्किन, जोनाथन मर्लो, क्लिंट हिन्चलिफ, डानियल वरवल, लान्स मोरिस र सन्दीप लामिछाने ।

कमेन्ट गर्नुहोस्