सन्दीपआवद्ध मेलबर्नको दोस्रो हार, १३औँ म्याचमा राशिदको टिमसँग भिड्न्त

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध मेबलर्न स्टार्स २१ रनले पराजित भएको छ । जारी बीबीएलमा मेलबर्नको यो दोस्रो हार हो ।

आज सिक्सर्सले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको मेबलर्नले १४ ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्कस स्टोइनिसले ६२, हिल्टन कार्टराइटले १९, निक म्याडिनसनले १२, कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाए । बलिङमा सिक्सर्सका टम कुरान, बेन क्रसिंगले २–२ र नाथन लायनले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको सिक्सर्सले १४ ओभरमा ४ विकेट गुमाएर १ सय ४३ रन बनायो । वर्षाका कारण आज खेल १४ ओभरमा झारिएको हो ।

सिक्सर्सका लागि कप्तान मोइसेस हेनरिक्सले शानदार ब्याटिङ गरे । उनले ३१ बलमा ८ छक्का र २ चौका प्रहार गर्दै ७२ रन बनाए । यस्तै जेम्स विन्सले अविजित ४१, डेनियल ह्यूजेसले १४ र जोस फिलिपले १० र टम कुरानले २ रनको योगदान दिए ।

बलिङमा मेलबर्न स्टार्सका सन्दीप लामिछानेले २ र डानियल वरवलले १ विकेट लिए । मेलबर्न स्टार्सले आफ्नो १३ औँ खेल बुधबार एडिलेट स्टाइकर्सविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्