हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति फेला

खलङ्गाः जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति भेटिएको छ ।

चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुमा रहेको स्थानीय खेतको आलीमा बेवारिसे अवस्थामा मूर्ति भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । उनका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मूर्ति भेटिएको हो ।

वि.सं २०७३ साल मंसिर ११ गते राती हराएको १८ किलोको चाँदीको मूर्ति भेटिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले पुष्टि गरे । उनका अनुसार सोमबार विहान साँढे ९ बजे स्थानीय उमेश देवकोटा, लोकेन्द्र हमाल, लोकदर्शन देवकोटाले जांै लगाएको खेतमा पानी हाल्न गएको समयमा मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरेका थिए ।

याे पनि पढ्नुस  अमेरिकाले फिर्ता गर्‍यो ३७ बर्ष अघि नेपालबाट चोरिएको मूर्ति

धामीका अनुसार प्रहरी सर्च अनुसार लागूऔषध खानतलास गर्ने अभियान चलिरहेको थियो । प्रहरीले अनुसन्धानका लागि घर सर्च गर्न थालेपछि मूर्ति राखेको व्यक्ति डराएर दानसाँघु पुलदेखी एकसय मिटर टाढा बेवारिसे फालिएको हुनसक्ने बताएको छ ।

मूर्ति भेटिएपछि बाजागाजासहित बजारमा घुमाइएको छ । स्थानीयहरुले मूर्ति पाएपछि खुशीयाली मनाएका छन् । स्थानीयले चन्दननाथ बाबा भगवानले मूर्तिचोरलाई टिक्न नदिएर फिर्ता भएको भन्दै खुशीयाली मनाएका हुन् । मूर्तिचोरको विषयमा थप अनुसन्धान भईरहेको छ ।

याे पनि पढ्नुस  चोरी भएका विभिन्न ५९ वटा मूर्तिहरु नेपालमा फिर्ता

वि.सं २०७३ साल मंसिर ११ गते जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको थियो । दत्तात्रेय भगवानको मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति चोरिएका र केही भेटिएका थिए ।

दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको थियो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मूर्ति राखिएको थियो । सोसहित तामा र पितलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवीदेवताको मूर्ति चोरी भएको थियो । यस अघि हराएको केही मूर्ति देपालगाउँको जंगलमा भेटिएका थिए ।

कमेन्ट गर्नुहोस्