काठमाडौंः गत बिहीबार मिटरब्याजी ऋणका कारण परिवारसहित धादिङको त्रिशुलीमा डुबेर आत्महत्याको प्रयास गरेका विनय लामिछानेका दुई छोरा विजन र रिजन चार दिनदेखि बेपत्ता छन् ।
दुई वर्षीय विजन र ६ महिनाका रिजनलाई खोज्न चार जिल्लाका प्रहरी तथा गोताखोर (सशस्त्र प्रहरी) को टोली चार दिनदेखि त्रिशुलीमा परिचालित छन् ।
६ महिनाको छोरा रिजनलाई आमा जमुनाले र ठूलो छोरा विजनलाई विनयले काखमा लिएर त्रिशुलीमा हेलिएका थिए । आमा जमुनाको डुबेर मृत्यु भएको थियो भने विनयलाई सकुशल उद्दार गरिएको थियो । नाबालक दाजुभाइको अवस्था अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नाबालक दाजुभाइको सकुसल उद्दार हुने सम्भावना निकै कम छ ।
नदीमा बेपत्ता बनेका दाजुभाइको खोजि कार्यका लागि धादिङ प्रहरीको टोलीले वेनिघाटदेखि मुग्लीनसम्म, चितवन प्रहरीले मुग्लिङदेखि गौडाकोटसम्म र नवलपरासी प्रहरीले गैडाकोटदेखि त्रिवेणीसम्म दैनिक खोजिकार्य जारी राखेका छन् ।
नदी पारीको भूभागमा गोरखा प्रहरीले पनि बेपत्ता दाजुभाइको खोजि गरिरहेको छ । गत बिहीबार साँझदेखि परेको वर्षाका कारण त्रिशुली नदी धमिलो भएकाले खोजिकार्य जटिल बनेको छ । अहिले वर्षा रोकिएसँगै खोजिकार्य तिव्रताका साथ अगाडि बढेको धादिङ प्रहरीले जनाएको छ ।