प्रधानमन्त्री ओलीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगरप्रमुखको निधनमा दुःख व्यक्त

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाएका छन्

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरे । फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत थिए । प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाएका पोखरेलले समाज र राजनीतिमा पुर्‍याएको सकारात्मक योगदानको स्मरण पनि गरे

यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्