ठूला बैंकलाई विशेष नियमन

काठमाडौंः प्रणालीगत रूपमा जोखिम निम्त्याउन सक्ने ठूला बैंकलाई राष्ट्र बैंकले विशेष नियमन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण विभागले नियमन कार्यविधि तयार पार्न अध्ययन सुरु गरेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए ।

उनले भने, ‘यो वर्षको मौद्रिक नीतिमा पनि हामीले त्यस्ता बैंक छुट्टयाएर विशेष नियमन अघि बढाउने उल्लेख गरेका छौं ।’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै व्यवस्था गरिने’ उल्लेख छ ।

पछिल्लो समय मर्जर र एक्विजिसनले केही बैंक अर्थतन्त्रमै ठूलो प्रभाव पार्ने अवस्थामा पुगेका छन् । अहिले ग्लोबल आईएमई, नबिल, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंकजस्ता ठूला बैंकलाई पनि सिभिल, सेञ्चुरी र एनबीजस्ता बैंक सरह नियमन हुँदै आएको छ । सबै वाणिज्य बैंक भए पनि केही बैंकले अर्थतन्त्रमा ठूलो प्रभाव राखेका छन् । उनीहरूलाई विशेष ख्याल गर्ने नियमन पद्धति आवश्यक पर्ने विश्वव्यापी प्रचलन दशकअघि नै सुरु भइसकेको छ ।

याे पनि पढ्नुस  बैंकहरूमा फेरि ‘वर्क फ्रम होम’ लागू

ज्यादै ठूलो सम्पत्ति भएका व्यावसायिक प्रतिष्ठान टाटउल्टिए मुलुक वा विश्व अर्थतन्त्रै क्षति पुग्ने भन्दै त्यस्ता संस्थालाई जोगाउन सरकारले राहत दिनुपर्ने धारणा अन्तरर्राष्ट्रिय वित्तीय मञ्चमा अघि सारिएको छ । यस्ता संस्थाको जोखिम मूल्यांकनदेखि प्राविधिक सघनतासम्मका विषयमा सूक्ष्म नियमन आवश्यक हुन्छ । सोही अनुरुप कार्यविधि बनाएर केही बैंकलाई प्रणालीगत रूपमा महत्वपूर्ण बैंक (एसआईबी) घोषणा गर्ने तयारी राष्ट्र बैंकले थालेको हो ।

याे पनि पढ्नुस  आज बिदेशी मुद्राको विनिमयदर कहाँको कति?

पुँजी, निक्षेप, कर्जादेखि विवेकशील नियमनका मापदण्डसम्मलाई हेरेर केही बैंकलाई एसआईबी घोषणा गरिने डा।भट्ट बताउँछन् । ‘हामीले जोखिमपूर्ण भनेका क्षेत्रमा कति कर्जा परिचालन गरेको छ भन्ने पनि हेर्नुपर्छ’, उनले भने । ठूला बैंकले ठूलै परिमाणमा निक्षेप संकलन गर्छन् । धेरैलाई ऋण दिएका हुन्छन् । धेरै मानिसको पुँजी जगेडा गरेका हुन्छन् र धेरैलाई रोजगारी पनि दिएका हुन्छन् । त्यस्ता संस्थासँग अरु किसिमका वित्तीय साधन पनि बढी हुन्छ । त्यसकारण ती संस्थामा समस्या आउँदा अरु बैंकमा पनि समस्या हुने र प्रणाली नै संकटमा पर्ने अवस्था आउन सक्छ ।

याे पनि पढ्नुस  राष्ट्र बैंकको निर्देशन : बैंकका सबै शाखा खोल 

यही कारण वित्तीय संकट आउँदा पनि त्यस्ता ठूला बैंकलाई जोगाउन सरकारले प्रयत्न गर्नुपर्ने हुन्छ । अमेरिका, बेलायतले एक दशकअघि नै यसरी बैंकलाई ‘बेलआउट’ गरिसकेका छन् । नेपालमै भिवोर विकास बैंकलाई राष्ट्र बैंकले पैसा दिएर टाट पल्टिनबाट जोगाएको थियो । ठूला संस्थाको जोखिम मूल्यांकन र सघन नियमन गर्ने उद्देश्यले यस्तो अभ्यास सुरु गरिएको हो । यसले बैंकको अवस्थालाई सूक्ष्म मूल्यांकन गर्न सघाउने भट्ट बताउँछन् । अन्नपूर्ण पोष्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्