काठमाडौंः नेकपाका सांसद अग्नी सापकोटाले प्रतिनिधि सभाको सभामुख पदको लागि मनोनयन दर्ता गराएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा सांसदहरु ओनसरी घर्ती, देव गुरुङ र राजपा नेपालबाट निर्वाचित सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।
संघीय संसद सचिवालयले मनोनयन दर्ताका लागि बिहान ११ बजेदेखि दुई बजेसम्म समय निर्धारण गरेको छ । सांसद सापकोटा मनोनयन दर्ताका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संघीय संसद भवन, ल्होत्से हल पुगेका थिए ।
आजै अपरान्ह २ बजेर ३० मिनेटपछि उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ । सभामुखका निर्वाचनका लागि प्रतिनिधिसभाको आइतबार तीन बजे बस्ने बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् प्रस्ताव निर्णयार्थ पेश हुने संसद सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।