८ भारतीय पर्यटकको मृत्युः राति ९ बजे होटल पुगेका थिए, ७ जना बसबाट फर्किए

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अबस्थामा फेला परेका आठ जना भारतीय पर्यटक सोमबार राति ९ बजे बास बस्न होटल पुगेका थिए । उनीहरुलाई मङ्गलबार विहान अचेत अवस्थामा पाइपछि हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौँको एक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्को कोठामा सुतेका पर्यटकहरु सकुशल रहेका छन् । कोठामा झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेकाले घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दामन–पालुङ घुम्न आएका उनीहरु रिसोर्टको कटेजमा बसेका थिए । अन्य सात जना भारतीय पर्यटक बसबाट काठमाठौँका लागि प्रस्थान गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

घटनास्थल पुगेका तामाङले भने, ‘घटनाको असुसन्धान गर्दै छौ । सो घटनामा मृत्यु हुनेमा भारत केरलाका २८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, ५ बर्षीय बैशनव र नौ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भारतको केरलाबाट पोखरा हुँदै दामन–पालुङ क्षेत्र घुम्न १५ जनाको टोली बा.३ क.३६८८ नं. को बसमा आएका थिए ।

चार वटा कोठा बुक भारतीय पर्यटकले लिएकोमा एउटा कोठामा हिटर बालेर सुतेको र निस्सासिएर अचेत भएको हुनसक्ने अनुमान गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

एउटा कोठामा सुतेका ८ जना बेहोस अवस्थामा रहेको विहान ९ बजेको समयमा प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले बेहोस अवस्थामा पाइएको थियो । बेहोस अवस्थामा पाइएपछि उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौँको हेम्स अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक राठौरले बताए । उनले भने, ‘अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गर्यो ।’

एभरेष्ट पानोरमा रिसोर्ट त्रिभुवन राजपथको हेटौँडा–नौबिसे सडक खण्डमा पर्ने समुन्द्र सतहबाट २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ्ग बजारबाट उत्तरतर्फ केही तल रहेको छ । –गोरखापत्र दैनिक

कमेन्ट गर्नुहोस्