देशैभरिका स्थानीय तहमा वास प्लान बनाउने खानेपानी मन्त्रालयको तयारी

विराटनगर: संघीय सरकारको खानेपानी मन्त्रालयले देशैभरिका स्थानीय तहहरूसंग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइएको हो ।

कार्यक्रममा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पुर्याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव रहेको स्पष्ट पारे ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा प्रत्येक स्थानीय तहको पूर्ण आकारको गुरु योजना बनाउन मन्त्रालयले चाहिरहेको जानकारी दिइन् । ‘हामीले देशैभरिको गुरु योजना बनाउन चाहिरहेका छौं’, उनले भनिन्, ‘७ सय ५३ वटै स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं । मास्टर प्लान तयार भैसके पछि त्यही गतिमा काम गर्नेछौं । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि वास प्लान चाहिएको हो ।’

स्थानीय तहहरुबाट तर्जुमा गरिने वास प्लानहरुमा एकरूपता कायम रहोस् भन्ने उदेश्यले सो कार्यमा सहयोग तथा समन्वय गर्नका लागि वास प्लान निर्देशिका समेत तयार गरिएको कार्यक्रममा जानकारी गराइयो ।

वास प्लानले देश भरिको खानेपानी र सरसफाइको अवस्था बारे सूचना तथा जानकारीहरु एनवास वेब सफ्टवेयरको माध्यमबाट संकलन गर्ने, भू–सान्दर्भिक तथ्यांकहरुको प्रविधियुक्त नक्साङक गर्ने, सो को विश्लेषण गर्ने तथा हालसम्म खानेपानी तथा सरसफाइका सेवा र सुविधाबाट वन्चित समुदायको पहिचान गरि सो स्थान र समुदायमा सेवा प्रवाहको सुनिश्चितता, मौजुदा सेवाको पुन स्थापना तथा स्तरोन्नति सहित रणनीतिक योजना निर्माण गर्ने कार्यमा सबै स्थानीय तहहरुलाई सहजीकरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्