टी–२० सिरिजः शिखर धवनको स्थानमा सञ्जुले लिए

काठमाडौंः चोटका कारण भारतीय टोलीबाट बाहिरिएका शिखर धवनको स्थानमा न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजमा सञ्जु स्यामसनले मौका पाएका छन् । भारतले आज शिखरको स्थानमा पाँच खेलको टी–२० सिरिजमा विकेटकीपर–ब्याट्सम्यान सञ्जुलाई मौका दिएको हो ।

भारतले न्यूजिल्याण्ड ‘टूर’का लागि टीम घोषणा गर्दा सञ्जु अटाएका थिएनन् । तर शिखर अष्ट्रेलिया विरुद्धको वानडे म्याचमा घाइते भएपछि भने न्यूजिल्याण्ड भ्रमणमा सञ्जुले माैका पाएका हुन् । उनी घरेलु प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएका छन् । विकेटकीपर–ब्याट्सम्यान सञ्जुले केही समयअघि विजय हजारे ट्रफी अन्तर्गत गोवाविरुद्ध अविजित २११ रन बनाएका थिए ।

उनले हालसम्म लिस्ट ‘ए’ क्रिकेटमा ८९ म्याचमा ३०.४६ को औसतमा २२ सय ८५ रन बनाएका छन् । साथै सञ्जुले ९३ आइपीएल म्याचमा २ हजार २ सय ९ रनसमेत बनाइसकेका छन् । उनीसँग आइपीएल खेलको राम्रो अनुभव छ ।

वानडे सिरिजका लागि पृथ्वीलाई मौका

चोटका कारण भारतीय टोलीबाट बाहिरिएका शिखर धवनको स्थानमा न्यूजिल्याण्ड विरुद्धको एकविदसीय क्रिकेट सिरिजका लागि युवा ब्याट्सम्यान पृथ्वी शालाई मौका दिइएको छ ।भारतले आज शिखरको स्थानमा वानडे सिरिजमा पृथ्वीलाई मौका दिएको हो ।

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको एकदिवसीय सिरिज ८ फेब्रुअरीदेखि न्यूजिल्याण्डमा सुरु हुनेछ ।

सानै उमेरमा उनले भारतीय क्रिकेटमा गतिलो छाप बनाएका छन् । पृथ्वीले लिस्ट ‘ए’ करियरमा २७ म्याचमा ४४.२५ को औसतमा ११ सय ९५ रन जोडेका छन् । साथै उनले ३८ टी–२० म्याचमा ९ सय ७२ रन पनि बनाइसकेका छन् ।

पृथ्वीले भारतका लागि टेष्टसमेत खेलिसकेका छन् । उनले पहिलो टेष्टमै शतक बनाएका थिए । वेष्ट इन्डिजविरुद्ध टेष्टमा डेब्यू गरेका पृथ्वीले १ सय ३४ रन बनाएका थिए । जहाँ उनी ‘म्यान अफ द म्याच’समेत चुनिएका थिए ।

केही दिनअघि मात्रै पृथ्वीले न्यूजिल्याण्ड–११ को टीमविरुद्ध १ सय बलमा १५० रन बनाएका थिए । शानदार लयमा देखिएका उनी न्यूजिल्याण्डसँगको वानडे सिरिजमा पनि त्यही लय दोर्‍याउन सक्छन् ।

कमेन्ट गर्नुहोस्