सोमपाल, शरद र बसन्तले त्रिकोणात्मक सिरिज गुमाउनसक्ने

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो पहिलो चरणको खेलमा नेपाली टोली केही प्रमुख खेलाडीबिनै उत्रने सम्भावना बढेको छ । नेपालसहित अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ माघ २२ देखि काठमाडौंमा हुँदै छ । नेपालले पहिलोपल्ट लिग २ मा प्रतिस्पर्धा गर्न लागेको हो ।

सन् २०२३ को विश्वकपको छनोट आधार रहेको तीनवर्षे यस प्रतियोगितामा अमेरिकाले ८ र ओमानले ६ खेल खेलिसकेको छ । सहभागी ३ टोलीले एकअर्कासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २–२ खेल खेल्नेछ । नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । नेपालले ओमानसँग माघ २२ मा खेलेर प्रतियोगिताको सुरु गर्नेछ । अर्को दिन ओमानको भेट अमेरिकासँग हुनेछ ।

प्रतियोगिताका लागि नेपालको तयारी हाल पोखरामा चलिरहेको छ । पोखराको बन्द प्रशिक्षण सकिनेक्रममा रहे पनि खेलाडीहरू अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पोखरामा नेपालले मलेसियासँग दुई अभ्यास खेलिसकेको छ । बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेल खेलेर काठमाडौं फर्किने तयारी गरिरहेको छ । सम्भवतः शुक्रबार नेपालको १४ सदस्यीय अन्तिम टोली घोषणा पनि हुनेछ ।

भेट्रान स्पिनर वसन्त रेग्मी र अलराउन्डर सोमपाल कामी अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पुत्रीलाभका कारण वसन्त हाल नेपालगन्जमा छन् । चोटका कारण सोमपाल अझै मैदानबाहिर छन् । उनले चोटकै कारण पोखरा प्रिमियर लिग (पीपीएल) को पनि सबै खेल खेलेका थिएनन् भने इनरुवामा शनिबार सम्पन्न मनमोहन मेमोरियल लिग पनि गुमाएका थिए । दाइको निधनका कारण शरद भेषावकर शनिबार भारतको मुम्बई जानुपरेको छ ।

‘अहिले नेपाली टोलीबारे केही भन्ने सक्ने स्थिति छैन । क्याम्पमा आउन नसकेका खेलाडीहरूलाई रिपोर्ट लेखेर दिन भनेका छौं,’ नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवं टिम व्यवस्थापक ऋषि गौतमले भने, ‘यो विषयमा क्यानसँग सल्लाह हुन बाँकी छ । के गर्ने भन्ने हो भन्नेमा बीचको बाटो हेरिरहेका छौं । विकल्प पनि हामीले हेरिरहेका छौं । वसन्तले छोरीको न्वारन सकेर १२ गतेपछि मात्र आउँछु भनेको छ, सोमपाललाई चोटबाहेक उसको घरायसी कारण पनि छन् ।’

नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेले सोमपाल अझै पूर्ण फिट हुन नसकेकाले खेल्न सम्भावना कम रहेको जनाए । ‘भिटामिन डी–३ कमीको कारण उनलाई अझै दुखाइ छ । मसल्सहरू कमजोर हुने गरेको छ । रिह्याब काठमाडौंमै भइरहेको छ, ८० प्रतिशत रिकोभरी भएको छ, पूर्ण फिट भइसकेका छैनन्,’ न्यौपानेले भने, ‘त्यसैले जोखिम नलिने कुरा छ, आधिकारिक निर्णय भने भएको छैन ।’ सोमपाललाई पीपीएल दौरान ढाडमा समस्या देखिएको थियो ।

अस्ट्रेलियाको बिग–बासमा खेलिरहेका लेग स्पिनर सन्दीप लामिछाने नेपाल कहिले फर्किन टुंगो लागिसकेको छैन । उनले मेलबर्न स्टार्सबाट खेल्दै १४ विकेट लिइसकेका छन् । उनको प्रदर्शनमा मेलबर्नले ३ खेलअगावै प्लेअफमा स्थान पक्का गरिसकेको छ । मेलबर्न स्टार्सले अझै दुई लिग खेल्न बाँकी छ । स्टार्सको लिगको अन्तिम म्याच सकेर आउने उनको सम्भावना छ । नेपाली टोली व्यवस्थापक गौतमले सन्दीप फेब्रुअरी २ अर्थात प्रतियोगिता सुरु हुनु तीन दिनअघि नेपाल आउनसक्ने जनाए । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्