४४४ किलोका युवक १०० किलोको श्रीमतीको खोजीमा !

एजेन्सीः २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् ।

४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन । परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ । यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

हयात आफ्नोबारेमा भन्छन्, ‘मलाई कुनै स्वास्थ्य समस्या छैन । म अहिलेको वजनमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु । म संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको नाम लेखाउनको लागि दैनिक अत्यधिक खाना खान्छु । मैले किशोरावस्थामा आफ्नो वजन बढाउन सुरु गरेको थिए ।’

‘यो सिलसिला अझै पनि जारी छ । मलाई सम्पूर्ण पाकिस्तानले चिन्छन्’, हयातले भने । हयातले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए ।

हयातका अनुसार, ‘मेरा आमाबुवा नाती नातिना खेलाउन चाहन्छन् । त्यसैले चाडै मेरो विवाह गराउन खोजिरहेका छन् । अहिलेसम्म तीन सय प्रस्ताव आइसकेको छ तर मेरो शरीर अनुसार जोडी नमिल्ने सोचेर सबै सम्बन्ध तोड्नु पर्यो ।’

कमेन्ट गर्नुहोस्