उखु किसानको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का

काठमाडौंः उखु किसानको भुक्तानी नतिर्ने चिनी उद्योगको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने भएको छ ।

उखुको बक्यौता नर्तिने अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गर्नका लागि पत्राचार गर्ने निर्णय गरिएको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए । अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् भने लुम्बिनी चिनी उद्योग मनिष अग्रवालले लिजमा लिएर संचालन गरिरहेका छन् ।

हिमालयन, इन्दुशंकर इष्टर्न, रिलायान्स र र भागेश्वर चिनी मिलले भने उखु किसानको सबै पैसा दिइसकेका छन् ।

उता, सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिले बुधबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी उखुको बाँकी बक्यौता रकम लिन पुनः आन्दोलनमा उत्रने घोषणा गरेको हो । माघ ९ गतेसम्म पूरा भुक्तानी नपाए जिल्लाका उखु किसान चरणबद्ध आन्दोलनमा उत्रिने भएका छन् ।

जिल्लामा जति पटक आन्दोलन गरे पनि पैसा नपाएपछि जिल्लाका किसानले गत पुसमा काठमाडौं पुगेर आन्दोलन गरेका थिए । त्यसबेला सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै उखु किसानलाई माघ ७ गतेसम्म पुरानो बक्यौता सबै चुक्ता गर्ने प्रतिवद्धतासहित उखु किसानलाई घर फर्काएको थियो ।

कमेन्ट गर्नुहोस्