काठमाडौंः नेपाल–११ विरुद्धको मैत्रिपूर्ण अन्तिम वानडेमा मलेसिया–११ ले राम्रो सुरुवात गरेको छ । ब्याटिङको मौका पाएका मलेसियाले १० ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५२ रन बनाइसकेको छ । अन्तिम वानडे पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु भएको हो । तीन खेलको सिरिज नेपालले एक खेल अगावै २–० ले जितसकेको छ ।
यसअघिका दुबै खेलमा फराकिलो जित हासिल गरेको नेपालले आजको खेलमा पनि त्यहि लय दोहोर्याउन चाहन्छ । पहिलो खेलमा नेपाल १ सय ३५ र दोस्रो म्याचमा १ सय ७० रनले विजयी भएको थियो । मलेसिया भने ‘क्लिनस्विप’बाट जोगिने प्रयासमा हुनेछ ।
नेपाल वानडे सिरिजको अन्तिम म्याच खेल्दै ओमान, अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्न पाेखराबाट शुक्रबार काठमाडौं आउने छ ।
शरद, बसन्त र सोमपालले आइसीसी लिग–२ गुमाउनसक्ने
आइसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो पहिलो चरणको खेलमा नेपाली टोली केही प्रमुख खेलाडीबिनै उत्रने सम्भावना बढेको छ । नेपालसहित अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ माघ २२ देखि काठमाडौंमा हुँदै छ । नेपालले पहिलोपल्ट लिग २ मा प्रतिस्पर्धा गर्न लागेको हो ।
सन् २०२३ को विश्वकपको छनोट आधार रहेको तीनवर्षे यस प्रतियोगितामा अमेरिकाले ८ र ओमानले ६ खेल खेलिसकेको छ । सहभागी ३ टोलीले एकअर्कासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २–२ खेल खेल्नेछ । नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । नेपालले ओमानसँग माघ २२ मा खेलेर प्रतियोगिताको सुरु गर्नेछ । अर्को दिन ओमानको भेट अमेरिकासँग हुनेछ ।
प्रतियोगिताका लागि नेपालको तयारी हाल पोखरामा चलिरहेको छ । पोखराको बन्द प्रशिक्षण सकिनेक्रममा रहे पनि खेलाडीहरू अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पोखरामा नेपालले मलेसियासँग दुई अभ्यास खेलिसकेको छ । बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेल खेलेर काठमाडौं फर्किने तयारी गरिरहेको छ । सम्भवतः शुक्रबार नेपालको १४ सदस्यीय अन्तिम टोली घोषणा पनि हुनेछ ।
भेट्रान स्पिनर वसन्त रेग्मी र अलराउन्डर सोमपाल कामी अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पुत्रीलाभका कारण वसन्त हाल नेपालगन्जमा छन् । चोटका कारण सोमपाल अझै मैदानबाहिर छन् । उनले चोटकै कारण पोखरा प्रिमियर लिग (पीपीएल) को पनि सबै खेल खेलेका थिएनन् भने इनरुवामा शनिबार सम्पन्न मनमोहन मेमोरियल लिग पनि गुमाएका थिए । दाइको निधनका कारण शरद भेषावकर शनिबार भारतको मुम्बई जानुपरेको छ ।
‘अहिले नेपाली टोलीबारे केही भन्ने सक्ने स्थिति छैन । क्याम्पमा आउन नसकेका खेलाडीहरूलाई रिपोर्ट लेखेर दिन भनेका छौं,’ नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवं टिम व्यवस्थापक ऋषि गौतमले भने, ‘यो विषयमा क्यानसँग सल्लाह हुन बाँकी छ । के गर्ने भन्ने हो भन्नेमा बीचको बाटो हेरिरहेका छौं । विकल्प पनि हामीले हेरिरहेका छौं । वसन्तले छोरीको न्वारन सकेर १२ गतेपछि मात्र आउँछु भनेको छ, सोमपाललाई चोटबाहेक उसको घरायसी कारण पनि छन् ।’