सुत्केरी हुँदा श्रीमान् साथमै हुनुपर्ने !

सुर्खेतः शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।

स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको पाइन्छ ।

कतिपय देशमा श्रीमानको अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमानलाई साथमा राखेर सेवा दिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमै सुत्केरी

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूति गृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन् । पुरुषलाई निषेध छ ।

याे पनि पढ्नुस  सेनाको रगतले बच्यो सुत्केरीको ज्यान

परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन् । प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिइन् ।

‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उनले बताइन् । अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ ।

याे पनि पढ्नुस  आरडिटी पोजेटिभ देखिएकी सुत्केरीकाे मृत्यु

‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो’, उनले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो ।’

जुम्ला अस्पतालमा गत वर्ष करीब ७०० सुत्केरी भएका थिए । रासस

कमेन्ट गर्नुहोस्