मलेसियाविरुद्धको सिरिज नेपालद्वारा क्लिनस्विप

काठमाडौंः मलेसिया–११ विरुद्धको मैत्रिपूर्ण अन्तिम एकदिवसीय म्याचमा नेपाल–११ पाँच विकेटले विजयी भएको छ । आजको जितसँगै तीन खेलको सिरिज नेपालले ३–० ले ‘क्लिनस्विप’ गरेको हो ।

अन्तिम म्याचमा मलेसियाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि रोहित पौडेलले आज पनि उत्कृष्ट ब्याटिङ गरे । उनले आज ७० बलमा ४ छक्का र ८ चौकाको मद्दतमा ८१ रनको योगदान दिए । सिरिजमा रोहितको यो दोस्रो अर्धशतक हो ।

यस्तै आज कप्तान दीपेन्द्रसिंह ऐरीले २८, सुनिल धमला, विनोद भण्डारीले ५–५ र कुशल मल्लले १ रन बनाए । बलिङमा मलेसियाका विजय उन्नीले २, अन्वर रहमान, देवेन्द्र मोगन र मोहम्मद अफिजले एक–एक विकेट लिए ।

यसअघि पोखरा रंगशालामा पहिला ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि भूषण सेभले ३०, देवेन्द्र मोगनले २८, शार्विन मुनिआन्डीले २२, मोहम्मद अरिफले १७, सायद अजीजले १५ र विजय उन्नीले १३ रन बनाए ।

बलिङमा अविनाश बोहराले ३, ललितनारायण राजवंशी, कुशल मल्लले २–२, कमलसिंह ऐरी र किशोर महतोले एक–एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल पहिलो खेलमा १ सय ३५ र दोस्रो म्याचमा १ सय ७० रनले विजयी भएको थियो ।माघ २२ गतेदेखि हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपालले मलेसियासँग अभ्यास म्याच खेलेको हो ।

कमेन्ट गर्नुहोस्