सांसद दीपक मनाङ्गे पक्राउ

काठमाडौंः गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराबाट सांसद मनाङ्गेलाई पक्राउ गरेको हो ।

मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जाहेरी दिएका थिए । सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको थियो ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा उद्घाटनअघि मनाङेले गुरुङलाई मंगलबार झापड हानेका थिए । मनाङेले गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको बुधबार पत्रकार सम्मेलन गरेर बताएका थिए । साथै उनले उनले हिजो भेटेको भए एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई झापड हान्ने प्रतिक्रिया दिएका थिए ।

मनाङ्गेलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

पक्राउ पर्नुअघि मनाङ्गेले बिहीवार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका थिए ।  स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित सांसद मनाङ्गे केही महिनापछि नेकपामा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्