राष्ट्रियसभा निर्वाचनः ९८ प्रतिशत मतदान, ६ बजेदेखि मतगणना

काठमाडौंः राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको बताए । अहिले मतपेटिका संकलन भइरहेको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुनेछ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्