जनकपुरधामः राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा दाजु विजयी हुँदा भाइ भने पराजित भएका छन् । एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव निर्वाचित हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्।
बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनीहरुमध्ये नेकपा–राजपा गठबन्धनबाट उठेका मृगेन्द्रले जित निकाले। उनले ५४ सय मत ल्याउँदै राष्ट्रिय सभा सदस्यको पद पक्का गरे।
पराजित उनका भाइ अनिरुद्धले ४ हजार ५ सय १२ ल्याए। उनी कांग्रेस–समाजवादी गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए। सप्तरीको बोदेवसाइन नगरपालिकाका अनिरुद्र सिंह यादव राजपाबाट र अनिरुद्रका भाई मृगेन्द्र सिंह समाजवादी पार्टीबाट उम्मेदवार थिए।
यसअघि पनि यी दाजुभाइ फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिसकेका थिए। तर, दुवै भाई पराजित भएका थिए। यो पटक भने दाजुलाई नेकपा-राजपा गठबन्धनले जिताएको हो।
२०७० सालको संविधानसभाको चुनावमा दाइ अनिरुद्र तत्कालीन मधेसी जनाधिकार फोरमबाट र भाई मृगेन्द्र तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट चुनावी प्रतिस्पर्धामा थिए। तर, त्यो बेला दुवै पराजित भएका थिए। उनीहरु चुनाव लडेको क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए।