जिम्बाब्बेविरुद्ध श्रीलंका १० विकेटले विजयी, म्याथ्यूजको पहिलो दोहोरो शतक

काठमाडौंः जिम्बाब्बे विरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा पाहुना टोली श्रीलंका १० विकेटले विजयी भएको छ । जिम्बाब्बेले दिएको १४ रनको लक्ष्य श्रीलंकाले ३ ओभरमा बिनाविकेट पूरा  गर्‍याे । उसका लागि कप्तान दिमुथ करुणारत्नले १० र ओशादा फर्नान्डोले ४ अविजित बनाए ।

दोस्रो इनिङ्समा जिम्बाब्बे १ सय ७० रनमै समेटिएको थियो । उसका लागि शन विलियम्सले सर्बाधिक ३९ रन बनाए । बलिङमा श्रीलंकाका सुरंगा लकमलले ४, लाहिरु कुमाराले ३, लसिथ एम्बुल्डेनियाले २ र कसुन रजिताले १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्बेले पहिलो इनिङ्समा १४८ ओभरमा सबै विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो । उसका लागि क्रेग इवाइनले सर्बाधिक ८३ रन बनाएका थिए । बलिङमा श्रीलंकाका लसिथ एम्बुल्डेनियाले ५, सुरंगा लकमलले ३ र लाहिरु कुमाराले २ विकेट लिए । अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजको दोहोरो शतकमा श्रीलंकाले पहिलो इनिङ्समा ५ सय १५ रन बनाउन सफल भएको थियो ।

म्याथ्यूजले ४६८ बलमा १६ चौका र ३ छक्काको मद्दतमा अविजित २ सय रन बनाए । टेष्टमा उनको यो पहिलो दोहोरो शतक हो । यस्तै कुशल मेन्डिसले ८०, धनन्जय डीसिल्भा, निरोशन डिकवेलाले ६३–६३, कप्तान दिमुथ करुणारत्नले ३७, सुरुगां लकमलले २७, ओशादा फर्नान्डोले २१ र दिनेश चम्डिमलले १० रनको योगदान दिए ।

बलिङमा जिम्बाब्बेका सिकान्दर राजा, विक्टर न्यूचीले ३–३, कप्तान शन विलियम्सले २ र डोनाल्ड ट्रिपनोले एक विकेट लिए । जिम्बाब्बे र श्रीलंकाबीचको सिरिजका अन्तिम टेष्ट २७ जनवरीदेखि सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्