फुटबल समर्थकलाई ‘खतरनाक’ तनाव !

काठमाडौंः फुटबलमा अति लगाव राख्ने समर्थकहरूलाई खेल भइरहेका बेला गहिरो तनाव हुने र आफ्नो टोलीको खेल हेर्दा हृदयाघात हुनेसम्मको खतरामा आफूलाई पार्ने एक अनुसन्धानले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले ब्राजिल–जर्मनीबीच सन् २०१४ को विश्वकप सेमीफाइनलको ऐतिहासिक खेलमा समर्थकहरूको थुकको परीक्षण गरेको थियो । ब्राजिल ७–१ गोलअन्तरले हारेका बेला ब्राजिलका सर्मथकहरूमा कोर्टिसोल हार्मोन अत्यधिक बढेको पाइएको थियो ।

त्यस्तो हुँदा रक्तचाप बढ्ने र मुटुमा तनाव बढ्ने हुनाले त्यो अवस्था खतरनाक हुन सक्छ । पुरुषहरू आफूले समर्थन गरेको फुटबल क्लबसँग धेरै लगाव राख्ने आमधारणा भएपनि खेलका बेला महिला र पुरुषमा हुने तनावको तहमा कुनै भिन्नता फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

खतरा महसुस
‘खासगरी आफ्नो टोलीसँग अति लगाव राख्ने र आफ्नो समूहकै अभिन्न अङ्ग ठान्नेहरूले खेल हेर्दा तीव्र तनाव झेल्छ’, अक्सफोर्ड विश्वविद्यालयको सेन्टर फर द स्टडी अफ सोसल कोहेसनकी अनुसन्धानकर्ता डा. मार्था न्यूसनले भनिन् । साधारण समर्थकहरूले पनि तनाव महसुस गर्छन् तर प्रतिबद्ध समर्थकको तुलनामा त्यो अत्यधिक हुँदैन ।

कोर्टिसोल हार्मोनको तह लामो समयसम्म धेरै रह्यो भने त्यसलेः
– रक्त कोषिकाहरू खुम्च्याउन सक्छ ।
– रक्तचाप बढाउन सक्छ ।
– पहिले नै कमजोर भइसकेको मुटुमा क्षति र्पुयाउन सक्छ ।

कोर्टिसोल बढ्दा मानिसहरूमा खतरा आएको या उनीहरूको जीवन खतरामा परेको वा उनीहरू आक्रमणमा परेको महसुस हुन सक्छ । यसअघि अनुसन्धानहरूले महत्त्वपूर्ण खेल भएका दिनहरूमा समर्थकहरूमा हृदयाघात हुने क्रम बढेको देखाएका छन् ।

त्रासपूर्ण खेल
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीनवटा फुटबल विश्वकपका चालीस समर्थकहरूको खेल हुनुअघि, भइरहेका बखत र खेल सकिएपछि थुकको परीक्षण गरेका थिए । सबभन्दा धेरै तनाव सेमीफाइनलका बेला भएको पाइयो ।

डा. न्यूसनले न्यूजलाई भनिन्, ‘त्यो त्रासपूर्ण खेल थियो । त्यसैले धेरै मानिसहरू रुँदै बाहिर निस्किए ।’ तर समर्थकहरूले ठट्टा गरेर र एक अर्कालाई अङ्कमाल गरेर तनावसँग झेल्ने उपाय पनि प्रयोग गरेका थिए ।

यसले कोर्टिसोलको तह खेल सुरु हुनु अगाडिको अवस्थामा र्पुयाइदिएको उनले बताइन् । डा. न्यूसनले रङ्गशालाहरूले खेल सकिएपछि उज्यालो कम गर्न र शान्त बनाउने किसिमका सङ्गीत बजाउन सुझाव दिएकी छन् ।

‘क्लबहरूले खेलका बेला तनाव बढ्ने खतरामा रहने प्रतिबद्ध समर्थकहरूका लागि मुटु जाँच गराउने या अन्य किसिमका स्वास्थ्य जाँच सुविधा उपलब्ध गराउने गर्न सक्छन्,’ उनले भनिन् । बीबीसी

कमेन्ट गर्नुहोस्