टी–२० सिरिजः बंगलादेशविरुद्ध पाकिस्तान ५ विकेटले विजयी

काठमाडौंः बंगलादेश विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको छ । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि अनुभवी ब्याट्सम्यान सोयब मलिकले अर्धशतक बनाए । उनले ४५ बलमा ५ चौकाको मद्दतमा अविजित ५८ रन बनाए । अन्तर्राष्ट्रिय टी–२० मा मलिकको यो आठौं अर्धशतक हो ।

यस्तै पाकिस्तानको जितमा अशन अलिले ३६, मोहम्मद अफिजले १७, इफ्तिखर अहमदले १६, इमाद वासिमले ६ र मोहम्मद मिथूनले अविजित ५ रन बनाए ।

बलिङमा बंगलादेशका शफीउल इस्लामले २, मुस्तफिजुर रहमान, अमीनुल इस्लाम र अल–अमीन हुसेन एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि मोहम्मद नइमले ४३, तमिम इकबालले ३९, लिटन दासले १२, कप्तान महूमदल्लाहले अविजित १९ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदी, हरिस रौफ र शादब खानले एक–एक विकेट लिए । हरिसको यो डेब्यू म्याच हो । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा शानदार प्रदर्शन गरेपछि उनले पहिलोपटक पाकिस्तानी टीममा मौका पाएका हुन् ।

हरिसले आज ४ ओभरमा ३२ रन दिएर १ विकेट लिएका हुन् । हरिसले आफ्नो ४ ओभरमा ४ चौकाका साथ ३२ रन खर्चिएका हुन् । आजको जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले १–० ले अग्रता बनाएको छ । बंगलादेश र पाकिस्तानले सिरिजको दोस्रो खेल आइतबार खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्