नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण, थप अध्ययन गर्दै महाशाखा

काठमाडौंः चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी जनवरी १३ मा उपचार गर्न अस्पताल पुगेका थिए ।

उनको रिपोर्ट यहाँ चेक गर्दा राम्रै देखिएको भए पनि थप शंका लागेर हङकङ पठाइएको थियो । बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरसको संक्रमण देखिएका विद्यार्थी ठीक भइसकेको बताए । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ । विश्व स्वास्थ्य संगठनलाई चाँडै जानकारी गराइने बताइएको छ ।

पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एक हजार संक्रमित रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्