पर्थविरुद्ध राशिद खानको टिम विजयी, सन्दीपको खेल भोलि

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोर्चर्स विरुद्धको खेलमा एडिलेड स्टाइकर्स १६ रनले विजयी भएको छ । एडिलेडको यो लगातार चौथो जित हो ।एडिलेडले दिएको १ सय ८२ रनको लक्ष्यका साथ जवाफि ब्याटिङमा आएको पर्थले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

उसका लागि लायम लिभिङस्टनले उत्कृष्ट याटिङ गरे पनि टीमलाई जित दिलाउन सकेनन् । आज उनले ५४ बलमा ७ छक्का र १ चौकाको मद्दतमा सर्बाधिक ७९ रन बनाए । बलिङमा एडिलेडका वेस अगरले ३, बिली स्टानलेकले २ पीटर सिड्डल र राशिद खानले एक–एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको एडिलेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि फिलिप साल्टले ५९, ज्याक वेर्थल्याण्ड, कप्तान ट्रभिस हेडले ३५–३५, एलेक्स क्यारीले २५ र जोनाथन वेल्सले अविजित २३ रन बनाए । बलिङमा एश्टन अगर, म्याथ्यू केलीले २–२ र क्रिस जोर्डनले एक विकेट लिए । आजको जितसँगै एडिलेड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

उसले १३ म्याच खेल्दा ८ खेलमा जित हासिल गरेको छ । र, एडिलेडले १७ अंक जोडेको छ । यता पर्थले १३ म्याच खेल्दा १२ अंक जोडेको छ । उसले ६ खेमला जित र ७ म्याचमा हारको सामना गरेको । र, पर्थ तालिकाको चौथो स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानमा भने मेलबर्न स्टार्स । उसले २० अंक जोडेको छ । मेलबर्नले आफ्नो १४ औँ म्याच भोलि (शनिबार) खेल्दै छ ।

कमेन्ट गर्नुहोस्