सशस्त्र प्रहरीद्वारा कल्याणकारी सुविधा थप

काठमाडौंः सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई थप कल्याणकारी सुविधा प्रदान गर्ने भएको छ । सशस्त्र प्रहरी कल्याण कोषमार्फत थप सुविधा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सार्वजनिक गरेका छन् ।

सशस्त्रले कर्मचारीलाई दिने सहुलियत ऋणको सुविधा बढाएको छ । १० वर्ष सेवा अवधी पूरा भएका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हाल उपलब्ध गराउँदै आएको साविकको किस्ताबन्दी सहुलियत नगद ऋण रकममा वृद्धि गरिएको छ । यसअन्तर्गत एसएसपी वा सोभन्दा माथिल्लो दर्जाका लागि सात लाख, इन्सपेक्टरदेखि एसपीसम्म पाँच लाख, जुनियर अधिकृतलाई चार लाख र अन्य दर्जाको लागि ती लाख रुपैयाँ ६ प्रतिशत ब्याजमा पाउने भएका छन् ।

१० वर्ष पुगेका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सिनियर अधिकृतहरुलाई चार पाङ्ग्रे सवारी साधनका लागि कल्याण कोषले किस्ताबन्दी ऋण दिने भएको छ । सवारी साधनको ७५ प्रतिशतसम्म वा बढीमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन लागिएको छ । प्रहरी परिचरदेखि जुनियर अधिकृतसम्मको प्रहरीको छोरीलाई स्नातक वा माथिल्लो तहमा अध्ययनका लागि ६ प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँसम्म कर्जा दिने निर्णय गरिएको छ ।

त्यस्तै, सबै कार्यालयहरुमा एक जवान एक खाटको नीति लागू गरिएको महानिरीक्षक खनालले बताए । अशक्त र लामो समयसम्म फलो अप गर्नु पर्नेहरुलाई एपिएफ अस्पतालमा पुनर्स्थापना केन्द्र स्थापना गरिएको छ । सशस्त्र प्रहरीका भवनहरुलाई सशस्त्र प्रहरी बलका सहिदहरुको नाममा नामाकरण अभियान सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्