सामूहिक राजीनामा बुझाएका ४ पाइलटले लिए नाम फिर्ता

काठमाडौंः नेपाल वायुसेवा निगममा सामूहिक राजीनामाको ज्ञापनपत्र बुझाएका २५ पाइलटमध्ये ४ जनाले ज्ञापनपत्रबाट नाम फिर्ता मागेका छन् ।

चार जनाले पत्रकारितामार्फत राजनीतीकरण भएको भन्दै ज्ञापनपत्रबाट आफ्नो नाम फिर्ता लिएका निगमका अपरेसन विभाग प्रमुख क्याप्टेन दीपु जुहार्चनले जानकारी दिए । उनका अनुसार नाम फिर्ता गर्नेमा रुविन्द्र शेरचन, एनबी विश्वकर्मा, समाजकुमार श्रेष्ठ, राजेश कुशवाहा रहेका छन् ।

नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई एकपछि गर्दै अर्को संकट आइलागेको छ । ३७ अर्बको घाटामा रहेको निगमको कार्यकारी प्रमुख पद रिक्त भएसँगै ६१ बर्से इतिहासमा पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा दिन सक्ने भन्दै ज्ञापन पत्र पेस गरेका थिए ।

तीन महिनासम्म माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुने उनीहरूको एकमत छ । विदेशी र स्वदेशी पाइलटको सेवासुधिमा चरम भेदभाव भएको भन्दै उनीहरूले पटकपटक व्यवस्थापनलाई भन्दै आएका थिए । करारमा रहेका विदेशी पाइलटमाथि हुने फजुल खर्च रोक्नुपर्ने माग उनीहरूको छ ।

यसबारे अपरेसन विभाग प्रमुख जुहार्चन विदेशी पाइलट राख्ने कुरा हवाई सुरक्षाको विषयसँग पनि सम्बन्धित भएको बताउँछन्

राजीनामा दिने निष्कर्षमा पुगेर स्वीकृत भएमा अन्तर्राष्ट्रिय उडान ठप्प हुने सँगै पाइलटलाई पनि जागिर पाउन गाह्रो हुने वरिष्ठ क्याप्टेन डिआर निरौलाले बताए ।

कमेन्ट गर्नुहोस्