बिग बास लिगः सन्दीपले लिए कप्तान लिनको विकेट

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ब्रिसबेन हिटविरुद्ध महत्वपूर्ण विकेट लिएका छन् । उनले आफ्नो तेस्रो ओभरको चौथो बलमा कप्तान क्रिस लिनको विकेट लिएका हुन् ।

लिन आज ३४ रनमा क्याच आउट भए । सन्दीपले तीन ओभर बलिङ गर्दा ११ रन दिएर महत्वपूर्ण १ विकेट लिएका छन् ।

सन्दीपले आफ्नो पहिलो र दोस्रो ओभरमा पनि ३–३ रन मात्र खर्चिएका थिए । आज मेलबर्नले टस हारेर बलिङको मौका गरिरहेको हो । ‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

मेलबर्न यसअघि नै ‘प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ । जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्