बीबीएलः सन्दीपको टिमले पायो विशाल लक्ष्य, डिभिलियर्सद्वारा छक्काको वर्षा!

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा ब्रिसबेन हिटले मेलबर्न स्टार्सलाई १ सय ८७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको ब्रिसबनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले शानदार ब्याटिङ गरे । उनले ३७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ७१ रन बनाए ।

यस्तै कप्तान क्रिस लिनले ३४, बेन कटिङले २२, साम हिजलेटले १८, र मार्नस लाबुशानेले अविजित २४ रनको योगदान दिए ।

बलिङमा मेलबर्न स्टार्सका एडम जम्पाले ३, सन्दीप लामिछाने र दिलबार हुसेनले एक–एक विकेट लिए ।

सन्दीपको किफायती बलिङ

अघिल्लो खेलमा विकेटविहीन भएका सन्दीपले आज किफायती बलिङ गरे । ब्रिसबेनविरुद्ध उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण १ विकेट लिए ।

आज उनले क्रिस लिनलाई ३४ रनमा आउट गर्न सफल भए । सन्दीपले ४ ओभर बलिङ गर्दा एउटा पनि चौका–छक्का दिएनन् ।

‘प्लेअफ’मा स्थान बनाउन ब्रिसबेनलाई आजको खेल जित्नैपर्ने दबाब छ । मेलबर्न यसअघि नै प्लेअफ’मा पुगिसकेको छ । उसले १३ म्याच खेल्दा २० अंक जोडेको छ ।

जारी बीबीएलमा मेलबर्नले १३ खेलमा ३ म्याचमा मात्र हारको सामना गर्नु परेको छ । मेलबर्नले २ पटक एडिलेड स्टाइकर्स र एकपटक सिड्नी सिक्सर्सविरुद्ध मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्