रहिनन् कुसुण्डा भाषाकी संरक्षक ज्ञानीमैया

देउखुरीः लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित आफ्नै घरमा उनको निधन भएको हो । उनको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

‘म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो ।’ कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भने, ‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ ।’ज्ञानीमैयाको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको उनले बताए ।

अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउने गर्थिन् । साना बालबालिकादेखि भाषा सिक्न चाहने जो कसैलाई पनि उनले सहजै भाषा सिकाउन थालिन् । भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उनकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग ग¥यो ।
लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योगदान छ । सरकारले उनलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको कथन छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिक वृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

त्यस्तै भाषा आयोगले उनलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन भएको थियो । लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्थिन्। उनका एक छोरा र दुई छोरी हुन् । छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो ।

छोरीहरुको विवाह भइसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागि खटिएका थिए । उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएकी थिइन् । उनले दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्