अनुदित कविताः कानुन

-गोरख पाण्डेय

फलामे गोडाहरूमा दह्रा बुटहरू

काँधमाथि बन्दुक झुन्ड्याएर

कानुनले समात्नेछ आफ्नो बाटो

हातहरूमा हत्कडी लिएर

भरपुर ताकत लगाउँदै घोक्र्याएर

उनीहरूलाई जेलतिर लछार्दै

ऊ जानेछ विचार र श्रमबीच

श्रम र त्यसको प्रतिफललाई छुट्याउँदै

सबै कुरा राख्दै

पहिलेदेखि नै निर्धारित ठाउँहरूमा

उदाहरणको लागि

अपराधीलाई न्यायाधीशको ठाउँमा

गलतलाई सहीको ठाउँमा

र पूँजीका दलालहरूलाई

शासकको ठाउँमा राख्दै

हिँड्ने छ

मजदूरहरूमाथि गोलीको वेगमा

भोकमरीको वेगमा किसानहरूमाथि

विरोधको जिब्रोमाथि

चक्कु झैँ चल्नेछ

व्याख्या गर्ने छैन

बग्दै गरेको आलो रगतको

व्याख्यालाई ठानिने छैन कानुनसम्मत

हेर्दा-हेर्दै

ऊ हाम्रा आँखा र सपनामा

आतङ्क बनेर भिज्न पुग्नेछ

देशको नाउँमा

जनतालाई गिरफ्तार गर्नेछ

जनताको नाउँमा

बेच्ने छ देश

सुरक्षाको नाउँमा

असुरक्षित गर्नेछ

यदि कहिले उसले आधा रातमा

ढकढकायो तपाईंको ढोका भने

बुझ्नुस

तपाईं बेपत्ता पारिनु हुनेछ

समाचारहरूले यसलाई ‘भिडन्त’ नाम दिनेछन्

 

ठालुपनको कोखबाट जन्मिएर

यो बहसको विषय हुनेछ

संसद र अदालतहरूमा

झुटको सुनौलो पालिसले

टलक्क टल्काएर

तबसम्म फलामका गोडाहरूद्वारा

चलाइनेछ कानुन

जबसम्म भएभरको जोडबल लगाएर

तोडिने छैन

अनुवादः भुवन

कमेन्ट गर्नुहोस्