‘किड्स ओलम्पिया’ कार्यक्रम सम्पन्न

काठमाडौँ, ११ माघ । मनमैजुस्थित जीवन ज्योति इङलिस बोर्डिङ स्कुलले ‘किड्स ओलम्पिया’ कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार डाँडागाउँ, मनमैजुमा रहेको विद्यालयको प्राङ्गणमा आयोजना भएको यस कार्यक्रममा विद्यार्थीहरूले नेवार, थारु, तामाङ, गुरुङ, राई, धिमाल, शेर्पा, ब्राह्मण, क्षेत्री आदि जाति तथा लोक गीत/नृत्य देउडा झल्काउने विभिन्न संस्कृति, भेषभूषा आदि प्रदर्शन गर्नुका साथै यी जातिमा प्रचलित लोक गायन, नृत्यकला आदि प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न विधाका रोचक प्रतिस्पर्धात्मक  खेलहरू समेत खेलेका थिए ।

व्यावहारिक शिक्षाअन्तर्गत विद्यार्थीहरू आफैँले तयार गरेर ‘फुड स्टल’ पनि सञ्चालनमा ल्याएका थिए भने  विद्यार्थीले तयार पारेका चित्र कलाहरूको पनि प्रदर्शनी समेत उक्त अवसरमा गरिएको थियो ।

‘विद्यालयले विद्यार्थीभित्र अन्तर्निहित प्रतिभा र क्षमता बढाउन विभिन्न समयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ,’ कार्यक्रमबारे बोल्दै विद्यालयका प्रिन्सिपल विष्णु पनेरुले भने, ‘यसपटक पनि विद्यार्थीभित्रको उक्त प्रतिभा र क्षमतालाई अझै प्रस्फुटन गराउन किड्स ओलम्पिया तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हौँ ।’

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चलाक समितिका अध्यक्ष राजन अधिकारीले गरेका थिए । यस महत्त्वपूर्ण अवसरमा विद्यार्थीहरूको मनोबल बढाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्न अभिभावक, कलाकारको पनि सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्