जर्मन बुन्डेस लिगः साल्कोमाथि बायर्नको गोल वर्षा

एजेन्सीः बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा साल्कोमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले साल्केलाई ५–० गोलले हरायो ।

बायर्नको फराकिलो जितमा पाँच खेलाडीले गोल गरे । छैटौ मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको बायर्नका लागि थोमस मुलरले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरे । तेस्रो गोल ५०औँ मिनेटमा लियोन गोरेट्ज्काले गरे । थियागो अलकान्तारले ५८औँ र सर्जी जिनाब्रीले ८९औँ मिनेटमा गोल गर्दै बार्यनलाई सजिलै जिताए ।

जितसँगै बायर्नले शीर्षस्थानमा रहेको आरबी लेइपजिजसँगको दुरी एकमा झारेको छ ।

शनिबार रातिनै भएको खेलमा शीर्ष टोली लेइपजिज फ्रान्कफर्टसँग २–० गोलले पराजित भयो । लेइपिजिजको हारले पनि बायर्नलाई थप फाइदा पुग्यो । जितसँगै दोस्रो स्थानमा रहेको बायर्नको १९ खेलबाट ३९ अङ्क छ । लेइपजिजको ४० अङ्क छ । बायर्नसँग हारेको साल्के ३३ अङ्कसहित पाँचौ स्थानमा छ । २४ अङ्क बनाएको फ्रान्कफर्ट नवौँ स्थानमा उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्