प्रश्नको जवाफ दिन नसकेर कार्यक्रमबाट गाउँपालिका अध्यक्ष भागेपछि…

अछामः बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ नदिएरै कार्यक्रम समापन गरेपछि उनको आलोचना भइरहेको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको क्रममा उठेका प्रश्नहरुको जवाफ दिन नसक्दा अध्यक्ष खड्काले सार्वजनिक सुनुवाई कार्यक्रमको माईक थुत्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गत आर्थिक बर्षमा गाउँपालिकामा भएका क्रियाकलापका बिषयमा कार्यक्रमका सहभागीहरुले असन्तुष्टि जनाउँदै बिभिन्न प्रश्नहरुको जवाफ माग गरेपछि गाउँपालिका अध्यक्ष खड्कालाई जवाफ दिन हम्मेहम्मे परेको थियो ।

गत आर्थिक बर्षमा गाउँपालिकाबाट सञ्चालित योजनाहरूमा अध्यक्ष खड्काले मनपरि गरेको, विकास निर्माणका काममा आफ्ना मान्छेलाई योजनामा भ्रष्टाचार गर्न छुट दिएको र मन नपरेका व्यक्ति संलग्न योजनामा अनावश्यक बाधा सिर्जना गरेकोलगायतका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले कडा आलोचना गर्दै प्रश्नहरुको जवाफ माग गरेका थिए ।

याे पनि पढ्नुस  गाउँपालिकाका कुर्चीमा अज्ञात समूहले आगो लगायो

विद्यालय हाताभित्र मदिराका बोतल थुपार्न लगाएको, हालसम्म पनि डम्पिङ्ग साईड निर्माण गर्न नसकेको, सवारी साधनका नाममा गाउँपालिकाबाट लाखौँ रकम असुलेको, अध्यक्ष युवा रोजगार कार्यक्रममा आफू निकट व्यक्तिहरुलाई मात्र समावेश गर्न लगाएको भन्ने प्रश्नहरुको जवाफ दिन हम्मेहम्मे परेपछि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पछि सर्दै कार्यक्रम छिटो सक्न सहजकर्तालाई दवाव दिएको कार्यक्रमका एक सहभागीले बताए ।

अछाम जिल्लाका १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा कमशल तथा गुणस्तरहिन मदिरा पुर्ण रूपमा बन्देज गरिएकोमा बान्नीगढी जयगढ गाउँपालिकामा स्वयम् अध्यक्ष खड्काले आफ्नै मदिरा डिलर संचालनमा रहेका कारण मदिरा सम्वन्धि कार्यविधि नवनेको बहाना देखाउँदै निजि स्वार्थका कारण कमशल मदिरा बिक्रि बितरण रोक्नका लागि चासो देखाएका छ्रैनन् ।

सार्वजनिक सुनुवाईका क्रममा सहभागीको चर्को आलोचनाको शिकार हुन पुगेपछि अध्यक्ष खड्काले पटक–पटक कार्यक्रम चाँडो सक्न जोड दिँदै आएकोमा गाउँपालिका अध्यक्षले आफ्नो निजि गाडि नै गाउँपालिकामा भाडामा लगाई मोटो रकम असुल गरेको प्रश्न उठेपछि भने प्रश्नको जवाफ दिनुको साँटो कार्यक्रम समापन गर्न अग्रसर भए ।

याे पनि पढ्नुस  घर गएका २९ जनामा कोरोना देखियो, जोखिम बढेको भन्दै गाउँपालिकामा प्रदर्शन

कार्यक्रमका सहभागी नेकपा अछामका सदस्य नवराज साउँदले गाउँपालिका अध्यक्ष खड्काको प्रयोजनका लागी मासिक रूपमा भाडामा लगिएको गाडी गाउँपालिकाका एक वडा अध्यक्षले सरकारी कामकाजका क्रममा जिल्ला बाहिर लिँदा सोहि सवारी साधनको भाडा अर्कै गाडीको कागजात पेश गरेर दोहोरो भाडा असुल गर्न निवेदन पेश गरिएकोबारे अध्यक्ष खड्कासंग जवाफ मागेका थिए ।

जवाफ माग गरेको लामो समयसम्म पनि गाउँपालिका अध्यक्ष खड्काले जवाफ नदिएपछि सार्वजनिक सुनुवाइ कार्यक्रममा बिवाद भएको थियो । प्रश्नको जवाफ नदिएको भन्दै विवाद सिर्जना हुँदा पनि गाउँपालिका अध्यक्ष खड्काले भने प्रश्नको वेवास्था गर्दै एकाएक सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

याे पनि पढ्नुस  काठमाडौंबाट अछाम गएकी एक युवतीमा एन्टिबडी पोजेटिभ

जनताले गाउँपालिकाका काम कार्वाहीका बिषयमा उठाएको प्रश्नहरुको जवाफ दिन नसकेर कार्यक्रम समापन गर्नुले गाउँपालिका अध्यक्ष खड्काले लाचारिपन प्रस्तुत गरेको नेकपा अछामका जिल्ला कमिटि सदस्य नवराज साउदले आरोप लगाए ।

यसैबीच जनताको प्रश्नको उत्तर दिन नसकेर गाउँपालिका अध्यक्ष खड्काले कार्यक्रम समापन गर्नु आफैमा लज्जास्पद बिषय बनेको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताए ।

यता, सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अभद्र व्यवहार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बान्नीगढी गाउ संगठन कमिटिले आपत्ति जनाएको छ ।

आफुले गरेका नैतिकहिन कामकाबारेमा उठेका प्रश्नहरुको जवाफ दिन नसकेर निरिह ढंगबाट कार्यक्रमको माईक थुतेर सार्वजनिक सुनुवाई कार्यक्रम समापन गर्दैमा जनताको मुख बन्द हुन्छ भन्ने भ्रममा नपर्न नेकपा बान्नीगढी गाउँ अध्यक्ष खड्कालाई चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्