त्रिकोणात्मक सिरिजको तयारी अन्तिम चरणमा

काठमाडौंः माघ २२ गतेदेखि सुरु हुन लागेको ओमान र अमेरिका विरुद्धको त्रिकोणात्मक सिरिजका लागि तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगित हुने कीर्तिपुर स्थित टियू क्रिकेट मैदानको व्यबस्थापनको काम करिब सकिएको नेपाल क्रिकेट संघ (क्यान) सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उनका अनुसार सिरिजका लागि मैदानमा तीन वटा पिच प्रयोग हुनेछ ।

फरक–फरक खेलमा फरक पिचको प्रयोग गर्ने गरी पिचको ब्यबस्थापन गरिएको क्यानले जनाएको छ । त्यस्तै मैदानमा सिसिटिभी जडानको कामसँगै रंगरोगनका कामहरु पनि पूरा भएको क्यानका सचिव प्याकुरेलले बताए । उनका अनुसार केही सामान्य काम बाँकी रहेको र केहिदिनमै ती कामहरुले पूर्णता पाउने छ ।

सिरिजका लागि मैदानमै ५ सय सुरक्षाकर्मी परिचालन हुने बताइएको छ । क्यानका अनुसार आइसीसीको ठूलो प्रतियोगिता भएकाले सुरक्षा ब्यबस्थामा कुनै कमी हुन नदिन त्रिबि मैदानमै ५ सय बढी सुरक्षाकर्मी खटाइने भएको हो । दर्शकबाट हुनसक्ने अबरोध तथा यसअघिको नजिरसमेतलाई ध्यानमा राखी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको सचिव प्याकुरेलले बताए । त्यसबाहेक खेलाडी बस्ने होटल तथा एयरपोर्टमा पनि उच्च सुरक्षा ब्यबस्था मिलाईएको छ ।

सिरिजमा सहभागी हुन अमेरिका र ओमानको टोली केही दिनभित्र काठमाडौं आइपुग्ने छन् । सिरिजको पहिलो खेलमा माघ २२ गते नेपाल र ओमान प्रतिस्पर्धा गर्ने छन् । यो सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने छ ।

कमेन्ट गर्नुहोस्